कालिकोटको नरहरिनाथ गाउँपालिका–८ मा रहेको खुलालुको पक्की पुलको निर्माण तीव्र गतिमा भइरहेको छ ।
कर्णाली राजमार्गबाट गौरवको आयोजनाका रूपमा मानिएको कर्णाली करिडोर जोड्ने खुलालु पक्की पुल निर्माणले गति लिएको हो।
दुईपटक शिलान्यास भएको पुल एक दशक बित्दासम्म निर्माण कार्यले तीव्रता पाउन सकेको थिएन ।
अलपत्र पुलको आगामी असारसम्म निर्माण सम्पन्न गरिसक्ने पुल निर्माणको जिम्मा पाएको प्रगति कन्काई नेपाल प्रालिले जनाएको छ।
सडक डिभिजन कार्यालय जुम्लाले निर्माण कम्पनीलाई पुल निर्माणको नक्शा नदिँदा अलपत्र परेको निर्माण कम्पनीका प्रतिनिधि दीपक मैनालीले बताए।
‘नक्शा पाइसकेपछि विसं २०७४ देखि निर्माण शुरु गरेका थियौँ’ उनले भने, ‘कर्णाली नदीको पानी कम भएपछि हिउँदको छ महिना काम हुने, वर्षामा पानी बढेर काम गर्न सकिएन त्यसकारणले पनि निर्माणमा ढिलाइ भयो।’
पुलको लागत १६ करोड बढी रहेको बताउदैँ उनले भने, ‘देशमा लकडाउन नभएको भए गत साउनमै निर्माण सम्पन्न हुने थियो। अब यस आवको असार समान्तसम्ममा निर्माण पूरा हुन्छ।’