भारगरथी हत्याको दोषी  पक्राउ नजिक : गृहमन्त्री थापा 

गृहमन्त्री रामबहादुर थापाले बैतडीकी १७ वर्षीय किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने दोषी नजिक प्रहरी पुगेको बताएका छन्। उनले उक्त घटनाका दोषीलाई छिट्टै कानुनी कठघरामा उभ्याउनेसमेत प्रतिबद्धता जनाए।

गृहमन्त्रालयमा आज महिला हिंसाका घटना बढेकाले हिंसामा संलग्नलाई कारवाहीको माग गर्दै आज सर्वोच्च अदालत बार एशोसियसन, महिला समितिको नेतृत्वमा गृहमन्त्रालय आएको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री थापाले उक्त घटनामा सरकार गम्भीर रहेको समेत बताए।

कञ्चनपुरकी निर्मला पन्तको जस्तो भट्टको घटना जटिल नरहेको जानकारी गराउँदै गृहमन्त्री थापाले विगतबाट पाठ सिकेर टुङ्गोमा पुर्याउने गरी छानविन प्रक्रिया अघि बढेको जानकारी गराए।

महिला हिँसा रोक्न सरकार गम्भीर रहेको दोहोर्याउँदै गृहमन्त्री थापाले त्यसैका लागि नेपाल प्रहरीमा महिला सेलको स्थापना गरिएको प्रष्ट्याए।

उनले हिंसा बलात्कारका घटना हुन नदिन र यस्ता घटना भएमा तत्काल दोषी पहिचान गरी कानुनी कारवाही अघि बढाउन प्रहरीलाई निर्देशन दिइसकेको समेत बताए।

सो क्रममा महिला कानुन व्यवसायीहरुले उक्त घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गर्दै मन्त्री थापालाई ज्ञापनपत्रसमेत बुझाएका हुन्।

प्रकाशित मिति: : 2021-02-16 14:19:00

प्रतिकृया दिनुहोस्