भागरथी हत्या : अभियोग पुष्टि भए पनि आरोपी जेल जानु नपर्ने, २० दिनले उमेर नपुग्दा सजाय आधा !

गगन अर्याल

काठमाडाै‌ं

बैतडीकी भागरथी भट्टको बलात्कार र हत्या अभियोगमा पक्राउ परेका व्यक्ति नाबालिग रहेको पाइएको छ ।

पक्राउ परेका दिनेश भट्ट एसईई परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र अनुसार १६ वर्ष पूरा हुन बाँकी रहेको देखिएको हो ।

स्थानीय भूमिराज माध्यमिक विद्यालय चडेपानीका प्रधानाध्यापक प्रजापति भट्टका अनुसार एसईईको प्रमाण पत्रमा दिनेशको जन्म मिति २०६१/११/१० उल्लेख छ ।

नागरिकता बनाउन उमेर नपुगेकाले प्रहरीले विद्यालयबाटै जन्म मिति प्रमाणित गर्ने तयारी गरेको छ ।

घटना भएको दिन (वारदात समय) माघ २१ गतेलाई आधार मान्दा दिनेश १६ वर्ष पुग्न २० दिन बाँकी रहेको देखिन्छ ।

अभियोग पुष्टि भएमा उनले पाउने सजायमा अब बालबालिका सम्बन्धी ऐन २०७५ समेत आकर्षित हुने भएको छ ।

सरकारी वकिलको कार्यालयका एक अधिकृतका अनुसार उमेर पूरा हुन केही घण्टा बाँकी रहँदा समेत बालबालिकासम्बन्धी ऐन आकर्षित भएको नजिर छ ।

‘३ घण्टाले बालबालिका भएको एउटा मुद्दा छ । त्यहाँ कस्तो छ भने राति १२ बजे उमेर पुग्ने थियो, तर ८/९ बजे वारदात घट्यो । ३ घण्टाले गर्दा बालबालिकासम्बन्धी ऐन आकर्षित भयो र सुधार गृह पठाइयो,’ ती अधिकृतले भने ।

प्रधानाध्यापक भट्टले उपलब्ध गराएको जन्ममितिलाई आधार मान्ने हो भने यस प्रकरणमा बालबालिकासम्बन्धी ऐनको दफा ३६ उपदफा (३) आकर्षित हुने देखिन्छ ।

प्रकाशित मिति: : 2021-02-17 13:42:00

प्रतिकृया दिनुहोस्