एक हजार स्याउ बिरुवा नष्ट हुनेगरी जुम्लाको बगैंचामा आगलागी

समयमै हिउँ नपरेका कारण जुम्लामा वर्ष हिउँदे बाली जौ, गहुँ र बर्खे फलफूल नहुने संभावना बढेको छ। यसले किसानहरुलाई चिन्तित बनाएको छ। 

किसानहरु एक वर्षको बर्खेबाली र फलफूल नहुने अड्कल काटिरहेको बेला जुम्लाको तातोपानी गाउँपालिकाको तरापी लेकमा आगलागी हुँदा एक हजार बढी स्याउ बिरुवा जलेर नष्ट भएका छन् जसले दशौँ वर्षपछिसम्मको आशालाई चरम निराशामा बदलिदिएको छ।

आगलागीबाट करिब एक हजार स्याउका बिरुवामा क्षति पुगेको छ। तातोपानी–१ राँकाको तरापी लेकमा माघ २० गते आगलागी हुँदा चार जना किसानका बगैंचामा रहेका स्याउका बिरुवा जलेर नष्ट भएको गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिए।

'दुःख गरेर हुर्काएका बिरुवा आगोले सखाप भएपछि किसानहरु चिन्तित बनेका छन्', उनले भने, 'भविष्यलाई सौचेरे बनाइएका बगैचामा आगो लाग्दा भविष्य नै जलेको छ।'

तातोपानी–१ का वडा अध्यक्ष प्रेमबहादुर कठायतका अनुसार पानीको चरम अभाव रहेको तरापीमा किसानले बोकेरै सिंचाइ गरी बिरुवा हुर्काएका थिए। 

'एक हजारभन्दा बढी स्याउका बिरुवा नष्ट भएका छन्',उनले भने, 'घेराबार गरिएका काठ र बगैंचामा भएको घाँसमा आगो लागेपछि स्याउका बिरुवा जलेर केही बाँकी रहेका छैनन्।'

स्याउका बिरुवासँगै वस्तुभाउलाई खुवाउन जम्मा गरिएको घाँस र एउटा गोठसमेत जलेको छ।

तरापी राँकाको लेकाली बस्ती हो। हाल त्यहाँका किसानहरु चिसो हिउँद कटाउन गाउँ झरेका छन्। 'अनेक कष्ट गरी हुर्काएर फल्नै आँटेका स्याउ आगोले खायो। अहिलेसम्मको मेहेनत बालुवामा पानी खन्याएको जस्तो भयो', कृषक तुल धरलाले मेहेनत खेर गएको प्रति चिन्तित हुँदै दुखेसौ पोखे। 

लेकमा चिसो बढेपछि गाउँ झरेका किसानको बगैंचा एकाएक आगोले सखाप पारेको हो।

तीन घण्टा पानी बोकेर सिंचाइ गरी हुर्काएको बगैंचाका बिरुवा काम नलाग्ने गरी जलेपछि चार ओैंला छाती चिरिएको किसान धरलाले थपे।

आगो कसले र किन लगायो भन्नेबारे एकीन नभएको बताइएको छ। छिट्टै कार्यपालिकाको बैठकबाट निर्णय गरी किसानलाई राहत उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ।

प्रकाशित मिति: : 2021-02-17 14:59:00

प्रतिकृया दिनुहोस्