कागजी विकास नै लजाउने गरि लागेको लाम, जसले प्रतीक्षामा रात र दिन जोडे...

पहिलोपोष्ट

काठमाडाै‌ं

काठमाडौं : चकमन्न सडक। रातको ११ बजेको छ। गिरिराज पुन मगर चुच्चेपाटी नजिकैको भाटभटेनी सुपरमार्केट बाहिर छन्। दाङका उनी गोंगबु बस्छन्। तर, केही दिन यता उनी चाबहिलतिर धाइरहेका छन्, दिनमात्र होइन, रातमा पनि। फाट्टफुट्ट गुडेका गाडी र सल्बलाइरहेका कुकुरबाहेक सबै निन्द्रामा। गिरिराज चाहिँ निदाइएला कि भन्ने पीरमा।

यसै भुलिरहँदा एक बज्यो। फागुन ५ को त्यो रात अब भने उनका केही साथीहरु पनि उनीसँगै जोडिए। दुई बज्दा त चहलपहल नै सुरु भइहाल्यो। राति जति गहिरिँदै गयो, मानिसहरुको चहलपहल बाक्लिँदै गयो। बिहान त भाटभटेनी स्टोरदेखि ह्यातको गेटसम्म मानिसहरु खचाखच। 
रातिमात्र होइन, त्यस दिन बिहानै ६ बजे ह्यातको गेट पुगेका थिए उनी। ठेलमठेल गर्दै बेलुकासम्मै लाइनमा बसिरहे। कुर्दाकुर्दा पालो आएन।
'आजलाई कोटा सकियो। भोलि आउनुस्।'

भित्रबाट यस्तै संदेश आयो। त्यसपछि फर्किनुको विकल्प रहेन। फर्किँदा यहाँसम्म बसेर पनि पालो नपाउँदाको पीडा थियो। र, साथमा थियो छाप लगाएर पठाइएको टोकन। 

भोलि आउनु नै छ भने किन आजै नबस्ने? उनले यस्तै सोचे र हान्निए चाबहिलतिर। एउटा रात र अर्को दिनको सुरुवात उनले अनिदो भएरै पार लगाउँदै थिए। मोरङका प्रवेश सुवेदीको कथा पनि उस्तै छ। एक साता अघि ८ जना साथीहरुको समूहसहित काठमाडौं आएका प्रवेश पनि त्यहीँ भेटिए। गौशालाको एउटा गेस्ट हाउसमा साथीहरुसँगै बस्छन् उनी। यहाँ लाइन लाग्न थालेको पनि धेरै दिन भइसक्यो उनले। 

प्रकाशित मिति: : 2021-02-18 19:14:00

प्रतिकृया दिनुहोस्