प्रदेश-प्रमुख बर्खास्त र नियुक्तिप्रति कांग्रेसको विरोध

File Photo
File Photo

नेपाली कांग्रेसले सरकारको सिफारिसमा २ प्रदेश प्रमुखको आज गरिएको बर्खास्ती र नयाँ नियुक्तिको विरोध जनाएको छ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सरकारले स्वेच्छाचारी ढंगले नियुक्ति गरेको बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘अघिल्लो सरकारको पालामा प्रक्रिया बमोजिम गरिएको नियुक्तिलाई गत बर्ष बदर गरेर सरकारले स्वेच्छाचारी ढंगले नियुक्ति गरेको थियो । आज फेरि त्यही प्रवृत्ति दोहो-याएर सरकारले एकातर्फ प्रदेश प्रमुखको गरिमा थप घटाउंदै जाने कर्म गरेको छ भने निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्ति तर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक छ।’

कांग्रेसका प्रवक्ता शर्माले संसद विघटनको असंवैधानिक कदम पश्चात् काम चलाउ स्थितिमा पुगेको सरकारले यसरी बर्खास्त, नियुक्ति जस्ता काम गर्न नमिल्ने बताएका छन्। 
 
उनले भनेको छन्, ‘संसद विघटनको असंवैधानिक कदम पश्चात् काम चलाउ स्थितिमा पुगेको सरकारले यसरी बर्खास्त, नियुक्ति आदि काम गर्न विल्कुलै मिल्दैन र पाइन्न।’

नेपाली कांग्रेसले प्रदेश प्रमुख बर्खास्त र नियुक्तिप्रति विरोध जनाउँदै स्वेच्छाचारी ढंगले गर्ने यस्ता कार्य अविलम्ब रोक्न सरकारलाई चेतावनी दिएको छ। 

प्रकाशित मिति: : 2021-02-19 17:33:00

प्रतिकृया दिनुहोस्