रत्न–श्रेष्ठ गुठीद्धारा पाँच लेखक पुरस्कृत

रासस

बागलुङ

रत्न–श्रेष्ठ पुरस्कार गुठी बागलुङले विभिन्न विधामा पाँच लेखकलाई शुक्रबार पुरस्कृत गरेको छ। गुठीले हरेक दुई÷दुई वर्षमा प्रदान गर्ने रु ५० हजार राशिको ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’बाट यो वर्ष लेखक चन्द्रप्रकाश बानियाँ पुरस्कृत भएका छन्।

निबन्ध कृति ‘भौज्याहा’का लागि उनी पुरस्कृत भएका हुन्। म्याग्दीको बेनी नगरपालिका–५ पुलाका बानियाँ यो वर्षको ‘मदन पुरस्कार’ विजेतासमेत हुन्।

यस्तै ‘रत्न–श्रेष्ठ प्रादेशिक पुरस्कार’ लेखक डा प्रमोद ढकालले प्राप्त गरेका छन्। रु २५ हजार राशिको सो पुरस्कार निबन्ध कृति ‘पूर्वीय दर्शनको पुर्नव्याख्या’का लागि उनलाई प्रदान गरिएको गुठीले जनाएको छ।

गुठीले नै प्रदान गर्ने ‘धवलागिरि प्रतिभा पुरस्कार’ लेखक महेश्वर पन्तलाई प्रदान गरिएको छ। उपन्यास कृति ‘फुर्लुङ’का लागि उनी पुरस्कृत भएका हुन्। पुरस्कारको राशि रु १५ हजार रहेको छ।

गुठीमा स्थापित ‘जगतचन्द्र स्मृति राष्ट्रिय पुरस्कार’ प्रा डा रमेशचन्द्र अधिकारीले प्राप्त गरेकाछन्। ‘जीवन दर्शनको रुपरेखा’ कृतिका लागि अधिकारी पुरस्कृत भएका हुन्।

सो पुरस्कारको राशि रु २५ हजार रहेको छ। यस्तै गुठीद्वारा सञ्चालित ‘गुरु गणेश–विष्णु स्मृति पुरस्कार’ लेखक मीनराज वसन्तलाई प्रदान गरिएको छ। उपन्यास कृति ‘पिपिरी’का लागि लेखक वसन्त पुरस्कृत भएका हुन्। उक्त पुरस्कारको राशि रु १२ हजार रहेको छ।

समारोहमा वरिष्ठ अधिवक्ता पदमनाथ शर्मा र गुठीका संस्थापक÷संरक्षक प्रेम छोटाले लेखकलाई पुरस्कार प्रदान गरेका थिए। 

प्रकाशित मिति: : 2021-02-20 07:27:00

प्रतिकृया दिनुहोस्