जुलुसका लागि चाहिने पैसा हो कि अजेन्डा?

नेपाल लाइभ

काठमाडौँ

किशोर दहाल

'हामी त्यत्रो( नेकपाका दुवै पक्षले जत्रो) जुलुस ल्याउनै सक्दैनौं। हामीसँग पैसा पनि छैन। हाम्रो क्रियाशील (सदस्यलाई) अनिवार्य उपस्थिति भन्यो भन्यो भने पनि आउँदै आउँदैनन्। क्रियाशील (सदस्यता) लिने बेलामा मारामार हुन्छ। भोलि क्रियाशील मात्रै आऊ भन्यो भने पनि आउँदै आउँदैनन्। चुनावमा क्रियाशील सबैलाई चाहिन्छ, मिटिङमा कहिल्यै आउँदैनन्,' फागुन ६ गते पोखरामा नेपाल राष्ट्रिय मगर संघको गण्डकी प्रदेशको प्रथम सम्मेलनको उद्घाटन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भनेका थिए।

प्रतिनिधि सभा विघटन गरिएपछि सत्तारुढ नेकपाका दुई पक्षले आ-आफ्नो क्षमताले भ्याएसम्म देशव्यापी सभा र जुलुस गरिरहेका छन्। र, त्यसैको आधारमा जनमत आफ्नो पक्षमा भएको दाबी पनि गरिरहेका छन्। तर, विघटित प्रतिनिधि सभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने त्यो प्रतिस्पर्धाबाट अलग जस्तै देखिएको छ। बरु आफूसँग पैसा नभएकैले नेकपाका दुई पक्षले जस्तै जुलुस निकाल्न नसक्ने सभापतिको भनाइ सार्वजनिक भएको छ।

प्रतिनिधि सभा विघटनको विरोधमा कांग्रेसले छिटपुट विरोधका कार्यक्रम भने गरेको थियो। तर, 'पैसा नै नभएकाले ठूला सभा गर्न नसकिएको' देउवाको लाचारीले उनको छवि, पार्टी र कार्यकर्ताबीचको सम्बन्ध, लोकतन्त्र र संविधानप्रति कांग्रेस कार्यकर्तामा रहेको समर्पण लगायतका विषयमा बहसको आवश्यकता बोध गराएको छ।

प्रकाशित मिति: : 2021-02-22 21:52:00

प्रतिकृया दिनुहोस्