एकता हुने नहुने ओलीको कोर्टमा छ, उहाँ सच्चिएर आउनुपर्छः वर्षमान पुन (अन्तर्वार्ता)

शिलापत्र

काठमाडाै‌ं

केपी ओलीको गैरसंवैधानिक संसद् विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि अबको राजनीतिक कोर्स कता जान्छ भन्ने सर्वत्र चासो छ । संसदको बैठक बसेपछि प्रधानमन्त्री र राष्ट्रपतिको भविष्य के होला ? सत्ता समीकरणको दौडधुप सुरु भएको अवस्थामा भावी प्रधानमन्त्री को होला र नेकपाको एकीकृत भविष्य सम्भव होला वा नहोला ? यिनै विषयमा नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य वर्षमान पुनसँग शिलापत्रका प्रधान सम्पादक बसन्त बस्नेतले संवाद गरेका छन् ।

प्रतिनिधिसभा पुनर्स्थापनापछि तपाईं पहिलोपल्ट सञ्चारमाध्यममा उपस्थित हुनुभएको छ । तपाईंलाई नियालिरहेका दर्शक, तपाईंका कार्यकर्तालाई भनिदिनुस् त के केपी ओलीसँग तपाईँहरू मिल्दै हुनुहुन्छ ?

कार्यकर्ताको भावना, जनताको आकांक्षा भनेको पार्टी एकीकृत हुनुपर्छ भन्ने नै छ । हामी पनि पार्टी विभाजनको पक्षमा थिएनौँ, अहिले पनि छैनौँ । तर, पार्टी विघटन भएको त प्रधानमन्त्री ओलीका कारणले हो । हामीले उहाँलाई असंवैधानिक कदम रोक्नुस् भन्यौँ, उहाँले मान्नुभएन । समृद्धि, सुशासन र जनताको आकांक्षा पूरा गर्नमा केन्द्रित हुनुस् भन्यौँ, उहाँले यी कुरा पनि गर्न चाहनुभएन । अब पार्टी एकता हुने नहुने भन्ने कुरा ओलीको कोर्टमा छ । उहाँ सच्चिएर आउने ग्यारेन्टी नभएसम्म त कसरी एकता हुन सक्ला र  ?

ओलीले त दुई भाइले के पाए ठानेर लड्डु खाए भन्नुभएको छ, उहाँ नसच्चिए तपाईंहरू अलग-अलग रूपमा जानुहुन्छ ?

बैठक राख्ने, उपस्थित नहुने । अभिभावक भएर सहकर्मी, सुरक्षा निकाय, संवैधानिक निकाय सबैसँग झगडा गर्ने, अभिभावकीय दायित्वबाट पन्छिने । सुशासन र विकासलाई अलपत्र पारेर हिँड्ने उहाँको चरित्र थियो । प्रधानमन्त्री ओलीलाई हामीले पटकपटक गल्ती सुधार्न आग्रह गर्‍यौँ  । तर, उहाँले मान्नुभएन । उहाँको कदमलाई अदालतले समेत गल्ती हो भनिसक्यो तर उहाँ मान्न तयार हुनुहुन्न । उहाँमा राजनीतिक नैतिकता र इमानदारी देखिएन । उहाँले पार्टी एकताको मर्म र त्यसको आवश्यकतालाई गम्भीर रूपमा नलिँदाको परिणाम अहिले हामीले व्यहोर्नुपरेको छ । उहाँलाई सच्याउने पहल हुनेछ, सम्भव भएन भने त अलग बाटोमा हिँड्नुबाहेकको विकल्प नै के रहन्छ र  ?

प्रकाशित मिति: : 2021-02-25 16:53:00

प्रतिकृया दिनुहोस्