वामदेव : पहिले विभाजनको सूत्राधार, अहिले एकता पक्षधर !

बाह्रखरी

काठमाडौं

वामदेव गौतम बिहीबार एकाबिहानै पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास पुगे । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते हठात् प्रतिनिधिसभा भङ्ग गरेपछि नेकपा विभाजन भयो । पार्टी अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल समूह ओलीलाई कारबाही गर्न उद्यत भयो र, सडक संघर्षको बाटो तय गर्‍यो ।

त्यसयता वामदेवको प्रचण्डकहाँ जाउआउ घटेको थियो । पुस ५ गतेपछि प्रचण्डसँग वामदेवको एक–दुईपटक भेट भयो । सघन संवाद पनि भयो । तर, वामदेव गौतमले ‘कित्ता क्लियर’ गर्न मञ्जुर गरेका थिएनन् । 

बरु, अलग–अलग बाटो तय गरिसकेका दुई पक्षलाई मिलाएर एकीकृत पार्टी कायम राख्नुपर्छ भनेर ‘एकता अभियान’को थालनी गरेका थिए ।  जिल्ला तहसम्म कमिटी घोषणा गरेका थिए । तर, अपेक्षित सफलता प्राप्त गर्न सकेनन् । 

पुस ५ अगावै वामदेवले दुवै पक्षको विश्वास गुमाइसकेका थिए । प्रतिनिधिसभा विघटन गरेपछि मुलुक ध्रुवीकरण हुँदा उनी तटस्थ बसेपछि विश्वास झन् घट्ने नै भयो ।

प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र गर्नै नहुने काम भनेकाले ओली पक्षले पनि विश्वास गर्दैनथे । ओली पक्षले विश्वास नगर्नुको अर्को कारण पनि छ, जनताको बहुदलीय जनवादको रक्षा र विकासका लागि वकालत गर्दै आएकाले आफ्नो पक्षमा लाग्न उनीहरूले आग्रह गरेका थिए ।

प्रकाशित मिति: : 2021-02-25 18:44:00

प्रतिकृया दिनुहोस्