वडा-वडा र गाउँगाउँमा स्वास्थ सेवा, प्रतिष्ठानकाे फार्मेसीमा औषधी अभाव 

'नापा बिरामी भयापुनि मेडिकलमा महँगो औषधी किन्नु पड्डाेछियाे। अब गाउँमै औषधी पाइन्छ। पैसा लाग्दैनुन्। हामीकन सजिलो भैगाे।'

याे खुसी चन्दननाथ ६ कि पुल्ती सुनारकाे हाे। केही दिन यता चन्दननाथ नगरपालिकाका १० वटै वडामा आधारभूत स्वास्थ्य सेवाको पहुँच पुगेर सेवा पाएपछि उनले यस्ताे प्रतिक्रिया दिएकी हुन्।

चन्दननाथ नगरपालिकाले स्थानीय सरकार सञ्चालन भएको साढे तीन वर्षे अवधिमा याे महत्त्वपूर्ण उपलब्धि हासिल गरेकाे छ।  मेयर कान्तिका सेजुवालले २, ३, ६ र ९ नम्बर वडामा एकैसाथ आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गरेपछि नगरले नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने, गाउँ गाउँमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने अभियानमा काेशेढुंगा पार गरेकाे हाे।

नगरका ७, ८ र १० नम्बर वडामा स्वास्थ्य चौकी र ४ मा शहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा रहेका छन्। ५ नम्बर वडामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ भने, १ नम्बरमा स्वास्थ्य केन्द्र उद्घाटन गर्न बाँकी छ। चन्दननाथ नगरपालिका कर्णालीकै पहिलो आधारभूत स्वास्थ्य सेवायुक्त नगर समेत बनेको मेयर सेजुवालको दाबी छ।

'सङ्घीयता कार्यान्वयनमा आएसँगै नागरिकलाई हरेक सेवा गाउँमै पुराउने लक्ष्य अनुसार घरदैलोमै आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गरिएको हाे,' उनले भनिन्, 'सरकारले प्रत्येक स्थानीय तहमा १५ शय्याको अस्पताल र हरेक वडामा आधारभूत स्वास्थ्य संस्था पुराउने लक्ष्य राखेको छ। ठुला खालका समस्या बाहेक अन्य बिरामीको औषधी पाइने गरी स्वास्थ्य केन्द्र सञ्चालन गरिएको छ।'

याे कदमले नगरका ४ हजार २ सय ७१ घरधुरीका २० हजार ८ सय ८४ जना नागरिक आधारभूत स्वास्थ्य सेवाको पहुँचमा पुगेका छन्।

नगरका वडावडामा सञ्चालित आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट विभिन्न ६४ प्रकारका औषधी निःशुल्क पाइने छन्।  नगरपालिकाका स्वास्थ्य सह–संयोजक क्षेत्र बहादुर महतले भने, 'सरकारले दिने ३५ प्रकारका निःशुल्क औषधी र बाँकी नगरपालिकाले खरिद गरेको औषधी गरी ६४ प्रकारका औषधी निःशुल्क दिने व्यवस्था गरिएकाे छ।'

'घर रुपियाँ भयानुन्।  फुर्सद पुनि कहिल्यै हुनैन।  अस्पताल जान पाइदैन। ओक्ताे(औषधी) घरैती आउँदैन छियाे। याैपाली अनाैठाे भयाे। डाक्टर घरैती आया। ओक्ताे आयाे। अब राेग आउन्या नाई जस्ताे लाग्याकाे छ। तल्लो पेट र छाती दुख्ने समस्या छियाे, मेराे।' गुठीचौर गाउँपालिका–३ गज्र्याङकोटकी ललिता बुढाले भनिन्।

याे खुसी गाउँपालिकाले दिएकाे सेवा सुविधाको नभई सेनाले गाउँगाउँमा पुगेर नागरिककाे उपचार गराएपछि आएकाे हाे। बुढाले खुसीका आसुँ टिलपिल पार्दै भनिन्, 'हामी गाउँल्याहरु रोग पालेर बेसेका रैछु। सेनाको सहयोगमा चेकजाँच गरायाैं। औषधी उपचार पायाैं। सेना त हामी गरिब दुखी जनताको सुखदुःखको सारथी रैछ।'

कोभिड–१९ का कारण अस्पतालसम्म पुग्न नसकेका बजारदेखि टाढाका गाउँलेकाे स्वास्थ्य परीक्षण तथा उपचारका लागि स्त्रीरोग विशेषज्ञ र जनरल मेडिसिनका चिकित्सक लिएर नेपाली सेना गाउँ गाउँ  पुगिरहेकाे छ।

'कोभिडका कारण जनताले अस्पतालसम्म पुगेर ढुक्कसँग उपचार गर्न पाएका छैनन्,' नन्दबक्स गणका गणपति दिवाकर रायमाझीले भने, 'जनताको स्वास्थ्य अवस्था सुधारका लागि गाउँमै विशेषज्ञ चिकित्सक ल्याएका हौं। यसले जनता निकै उत्साहित भए।'

२४ नम्बर बाहिनी अड्डाका बाहिनीपति यमबहादुर सापकोटाले भने, 'जनताको हरेक सुखदुःखमा साथ दिन्छौं। सेना जनताको असल सेवक बन्न चाहन्छ। जनताको स्वास्थ्यमा संवेदनशील भएर कार्य गरिरहेका छौं। यो यसैको एक उदाहरण हो।'

उनका अनुसार विशेषज्ञ स्वास्थ्य सेवाले गाउँलेलाई निकै राहत मिलेको छ। 'कोभिडका कारण गाउँका मान्छे अस्पतालसम्म पुग्न सकेका छैनन्। रोग बोकेर गाउँमै थन्किएका छन्। आर्थिक अभावका कारण सबै नागरिक स्वास्थ्य सेवाको पहुँचसम्म पुग्न सकेका छैनन्। त्यसका लागि यो सेनाले दिएको विशेषज्ञ स्वास्थ्य सेवा उपलब्धिपूर्ण छ,' उनले थपे।

सेनाले गाउँमा सेवा दिँदै गर्दा उपचार हुन नसकेका बिरामीकाे थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रेफर गर्ने गरेकाे छ। बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म विशेषज्ञ सेवा दिइरहेको छ।

गुठिचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले सेनाले स्वास्थ्य सेवामार्फत जनसम्बन्ध सुमधुर बनाउन थालेको अनुभुति भइरहेको बताए।

'नेपाली सेना पटकपटक गाउँपालिकामा आएर हरेक विषयमा तालिम, प्रशिक्षण गर्दै सम्बन्ध विस्तार गरिरहेको छ,' उनले भने, 'यो नागरिकका लागि खुसीको कुरा हाे। आगामी दिनमा भौतिक पूर्वाधार निर्माण र सचेतनाका क्रियाकलापमा सहकार्य गर्नेछौं।' शिविरले स्वास्थ्य सेवामार्फत जनताको मन जित्न लागिरहेको उनले थपे।

वडाध्यक्ष प्रेमबहादुर बुढाले गाउँमा सेनाको स्वास्थ्य शिविर बसेर विशेषज्ञ स्वास्थ्य सेवा लिन पाउँदा उत्साहित बनाएको बताए। 'पहिले सेना देख्नेबित्तिकै त्रसित हुनुपर्ने अवस्था थियो,' उनले भने, 'यो शिविरपछि सेना देख्नेबित्तिकै आशा र भरोसा लाग्ने वातावरण बन्यो।'

गाउँमा पुगेका चिकित्सकले ४ सय ३८ जनाको उपचार गरेका छन्। जसमा महिला १ सय ५१, पुरुष २ सय ३५ र बालबालिका ५३ जनाले विशेषज्ञ सेवा लिएका हुन्।

जुम्लाको एक नगरपालिकासहित ७ वटै गाउँपालिका पुगेर जनतासँगको भेटघाट, छलफल र सम्बन्ध सुधारका क्रियाकलापमा सेना सहभागी भइरहेकाे छ।

'अधिकतम महिलामा पाठेघरको समस्या भेटिएको छ। स्वास्थ्य जाँच गरेका १ सय ५१ जना महिलामध्ये करिब ९० प्रतिशत महिलामा पाठेघर क्यान्सरको जोखिम, सेतो पानी बग्ने र महिनावारी भएको बेला रक्तश्राव हुने समस्या बढी देखिएको छ,' स्त्रीरोग विशेषज्ञ डाक्टर सुवी बस्नेतले भनिन्।

'बिमाका रुपियाँ सकियाछुन्, अस्पताल औषधी सकियाछुन्।' आशाहरुकाे बीचमा आएकाे निराशा चन्दननाथ -१० कि गाेरीकला सार्कीकाे हाे।

नेपाल सरकारले बाँडेकाे गरिब परिचयपत्र पाएकी उनकाे निशुल्क बिमा छ। घरपरिवार बिरामी भइरहँदा सुरुमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट निशुल्क औषधी पाउने गरिएकाे भएपनि हाल बिमाका रुपैयाँ सकिएर हाे वा अस्पतालमा औषधी सकिएर हाे आफूले औषधी नपाएकाे उनले बताइन्। 

यस विषयमा बिएल नेपाली सेवाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्टार विश्वराज काफ्लेलाई साेधेकाे थियाे। प्रतिक्रियामा उनले भने, 'तीन महिना अघिदेखि प्रतिष्ठानकाे फार्मेसीमा औषधी अभाव छ। हामीले दुई पटक टेन्डर गर्दा कसैकाे पनि परेन। यसले समस्या आयाे।'

विगतका दिनहरुका टेन्डरवालाले म्याद गुज्रन थाेरै समय मात्र बाँकी रहेका औषधी पठाउने गरेकाेले याे पाली कडा खालकाे मापदण्ड अपनाई टेन्डर गर्दा कसैकाे पनि नपरेकाे औषधी खरिद समितिका सदस्य तथा प्रतिष्ठानका लेखा अधिकृत इन्द्रराज डाँगीले बताए।

'फार्मेसीमा साह्रै समस्या भएपछि दुइ तीन महिनाकाे लागि हुने औषधी पुरानै आपूर्तिकर्ताबाट पुरानै मुल्यमा मगाएका छाैं,' उनले भने, 'केही दिनमा सेवा सुचारु हुन्छ। बाँकी टेन्डर प्रक्रियाबाट नै ल्याइनेछ।'

हरेक दिन एउटै समस्या सुन्नुपर्दा चिकित्सकककाे मनाेविज्ञानमा पनि असर परिरहेकाे एक वरिष्ठ चिकित्सकले नाम नबताउने सर्तमा भने, 'प्रतिष्ठानले ढिलाे गर्दा बिरामी निजी फार्मेसीबाट ओैषधी किन्न बाध्य छन्। यसले निजी फार्मेसी संचालकलाई घाटा भइरहेकाे छ। बिरामी मारमा परेका छन् भने प्रतिष्ठानकाे समख गुम्ने सम्भावना बढेकाे छ। यस्ताे हुँदा कतै सिन्डिकेट पाे हाे कि भन्ने आशंका बढेकाे छ।'

प्रकाशित मिति: : 2021-02-26 11:03:00

प्रतिकृया दिनुहोस्