नक्कली भुटानी शरणार्थी प्रकरण

दुलालकाे बयानः ओलीका स्वकीय सचिवलाई १ करोड र प्रेम राईलाई साढे दुई करोड दिएँ

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका गिराेहका नाइके केशवप्रसाद दुलालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यलाई १ करोड रुपैयाँ दिएको बयान दिएका छन्।

‘तत्कालीन प्रधानमन्त्री केपी ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले प्रधानमन्त्री क्वाटर बालुवाटारमा ऊर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीमार्फत् मलाई बोलाई २०७६ साल असोजमा १ करोड नगदै बुझी लिएको,’ उनले बयानमा भनेका छन्।

दुलालले जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी अधिकारीसँगको बयानमा बज्राचार्यलाई २०७६ असारमा बालुवाटारमै गएर १ करोड रुपैयाँ बुझाएको बयान दिएका हुन्।

‘म र मेराे आफन्तलाई रामबहादुर थापा बादल, प्रेमकुमार राई, इन्द्रजीत राई, राजेश बज्राचार्य, प्रतीक थापा, सन्देश शर्मा, डा. अजय क्रान्ति शाक्य, राजेश्वर बज्राचार्य समेतले भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिन्छु भनी रकम लिइ म आफैँ ठगिएकाे पीडित व्यक्ति हुँ। मैले काेही कसैलाई भुटानी शरणार्थी बनाई तेस्राे मुलुक पठाइदिन्छु भनी काेही कसैसँग कुनै रकम लिएकाे छैन,’ दुलालले बयानमा भनेका छन्।

त्यसैगरी उनले तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रियसभा निर्वाचन हुनुअगावै ३ मन्त्री क्वाटर पुल्चोकमा ३ कराेड नगद बुझेकाे र बादलका छाेरा प्रतीक थापाले नक्साल निलगिरी थकाली भान्साघरको आँगनको उत्तरतर्फ रहेको होटलको माथिल्लो तलामा बोलाएर २०७६ साल असारमा १ करोड बुझेकाे बयान दिएका छन्।

त्यस्तै, गिरोहका नाइके दुलाल, बिचौलिया भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई साढे दुई करोड रुपैयाँ बुझाएकोसमेत बयान दिएका छन्।

प्रहरी हिरासतमा रहेका ‘दलाल’ दुलाल र भण्डारीले तत्कालीन गृह सचिव राईले प्रयोग गर्दैआएको सरकारी गाडीभित्र साढे दुई करोड रुपैयाँ राखिदिएको दाबी गरेका छन्। ‘अभियुक्तहरूले दिएको बयानलाई थप पुष्टि गर्ने र राईलाई अनुसन्धानको घेरामा ल्याउने जिम्मा प्रहरीसँग छ,’ सरकारी वकील कार्यालय स्रोतले भन्याे।

बयानका क्रममा दुलालले तत्कालीन गृहसचिव राईको गाडीमा पैसा राखिदिएपछि भिडियो बनाएको र त्यो भिडियो आफूहरूले प्रहरीलाई सुम्पिएको दाबी गरेका छन्। बिचौलियाहरूले आफ्नो समूहले गृह मन्त्रालयको कार्यकक्षमा तत्कालीन सचिव राईलाई भेट्दा ‘पार्किङको गाडीमा साढे दुई करोड रुपैयाँ राखिदिएको सूचना’ दिएको बयानमा भनेका छन्।

त्यतिखेर गृहमन्त्रालमा तत्कालीन गृहसचिव राई र आफूहरूबीच भएको गोप्य कुराकानीको अडियो बनाएको र त्यो अडियो पनि भिडियोसँगै प्रहरीलाई दिएको दुलालको दाबी छ। तर प्रहरी शक्तिकेन्द्रको दबाब कारण राईलाई नजरअन्दाज गर्दै आएको अभियुक्तहरूको गुनासो रहेको सरकारी वकील कार्यालयका एक अधिकारीले बताएका छन्।

उनीहरूले बयानका क्रममा बारम्बार अख्तियार प्रमुख राईको नाम मुछिरहेका छन्। तर राईसमेत जोडिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा बिचौलियाहरूबाट ‘भिडियो–अडियो’ पाउँदासमेत प्रहरी मौन छ।

प्रकाशित मिति: : 2023-05-23 20:50:00

प्रतिकृया दिनुहोस्