मानवसेवा आश्रमलाई चार करोडको जग्गा

Symbolic photo

सहयोगापेक्षी मानवका लागि बसोबासको उचित व्यवस्थापनका लागि भवन निर्माणको पहल थालिएको छ। भवन निर्माणका लागि आज  विराटनगरको एक परिवारले रु चार करोड मूल्य बराबरको जग्गा प्रदान गरेको छ।

 विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको सक्रिय योगदानमा विराटनगर–५ का उदार हृदयका खड्का परिवारले रु चार करोड मूल्य बराबरको छ कठ्ठ जग्गा प्रदान गरेको हो। डम्बर सत्सङ्ग सदगुरु कविर सेवा आश्रमकी अध्यक्ष सुशिला भट्टराईले मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीलाई विराटनगर–५ स्थित छ कठ्ठा जग्गाको कागजपत्र हस्तान्तरण गरे।

डम्बरबहादुर खड्काले आफ्नो मृत्युपछि मानवसेवाको हितमा काम गर्न भनेअनुसार खड्का परिवारका सदस्यले कविर आश्रमको नाममा रहेको १३ मध्ये छ कठ्ठ जग्गा प्रदान गरेका हुन्।

महानगरपालिकाका प्रमुख पराजुलीले मानवसेवा प्रवद्र्धन गरेकामा दाता परिवारले पुण्यको काम गरेको चर्चा गर्दै छोरोछोरीले वृद्ध आमावुवालाई ज्येष्ठ नागरिक गृहमा पठाउने कार्य बन्द गर्न आग्रह गरे। 

उनले भविष्यमा सेवा आश्रम के हो भन्ने अनुन्धान गर्न विश्वभरका नागरिक नेपाल आउने चर्चा गर्दै आश्रमको विराटनगरमा भएको तीन भवनको वहाल महानगरले भुक्तानी गरिरहेको बताए। 

प्रमुख पराजुलीले प्राप्त जग्गामा सहयोगापेक्षीलाई राख्न लागि आवश्यक भवन निर्माण गर्न चाँडै विराटनगरमा नेपालका प्रसिद्ध कलाकारको उपस्थितिमा बृहत साङ्गीतिक कार्यक्रमको आयोजना गर्ने जानकारी दिए। 

मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष अधिकारीले मानवीय कार्यको लागि जग्गा उपलब्ध गराएर समाजमा प्रेरणा प्रदान गर्नुभएको बताउँदै आश्रमले शुरु गर्न लागेको ज्येष्ठ नागरिक मनोमञ्जनका लागि महानगरको सहयोगका लागि आग्रह गरे।

दाता संस्थाकी अध्यक्ष भट्टराई र स्व खडका बुहारी जमूना खड्का, गुराँस पुस्तकालयका अध्यक्ष दीपक चापागाईलगायतले दुःख र पीडामा सहयोग गर्न पाउँदा खुशी लागेको चर्चा गर्दै आगामी दिनमा थप सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

कविर आश्रमको बाँकी रहेको सात कठ्ठा जग्गामा मानवसेवा आश्रमले वाटिका लगाउने सोही अवसरमा जानकारी दिइयो। सोही अवसरमा दाता खडका परिवारका सदस्य एवं कवि आश्रमका पदाधिकारीलाई सम्मान गरिएको थियो। आश्रमको प्रदेश–१ कार्यालय विराटनगरमा तीन स्थानमा बहाल लिएको भवनमा २४६ जना सहयोगापेक्षी बस्दै आएका छन्। रासस 
 

प्रकाशित मिति: : 2021-02-26 19:56:00

प्रतिकृया दिनुहोस्