मयुरधाप औद्योगिक क्षेत्र शिलान्यास

Symbolic photo

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१४ मयुरधापमा स्थापित मयुरधाप औद्योगिक क्षेत्रको आज शिलान्यास गरे। सङ्घीय सरकारले विसं २०७२ साल चैत्र १ गते मयुरधापमा नयाँ औद्योगिक क्षेत्रको घोषणा गरेको थियो।

उक्त औद्योगिक क्षेत्रमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ र १४ मा गरी १९९ बिगाहा १७ कट्ठा सरकारी जग्गा सङ्घीय सरकारले मयुरधाप औद्योगिक क्षेत्रको नाममा दर्ता गरी लालपूर्जा पनि हस्तान्तरण गरिसकिएको नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिएका छन्। सो क्षेत्रमा २०७५ साल कात्तिक ५ गतेदेखि परियोजना कार्यालय स्थापना गरिसकिएको पनि बताइएको छ।

कार्यक्रम मन्त्री भट्टले मुलुकमा राजनीतिक स्थायीत्व कायम गरी निर्यातमुखी उद्योगलाई आत्मनिर्भर बनाउन सङ्घीय सरकारले मौजुदा ऐन कानूनलाई परिमार्जन गरी उद्योगलाई अघि बढाउने लक्ष्य रहेको बताए। 

उनले अर्थतन्त्रलाई गतिशील आत्मनिर्भरमुखीतर्फ उन्मुख गराउन सङ्घीय सरकारले प्रत्येक प्रदेशमा नयाँ–नयाँ औद्योगिक क्षेत्रको विस्तार गर्न लागिएको र बहुराष्ट्रिय कम्पनीका उद्यमीलाई पनि यहाँ शान्तिसुरक्षा प्रदान गर्न जग्गा र भौतिक सुविधा उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशित गरिसकिएको बताए। 

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा औद्योगिक क्षेत्रलगायत मयुरधाप औद्योगिक क्षेत्रलाई अब औद्योगिक जिल्लाको रुपमा घोषणा गर्ने र बहुराष्ट्रिय कम्पनी, विभिन्न उद्यमीहरुलाई यहाँ नयाँ–नयाँ उद्योग स्थापन गर्न प्रदेश सरकारले भौतिक सुविधायुक्त सेवाहरु उपलब्ध गराउँदै लैजाने नीति रहेको बताए। 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले मुलुकको अर्थतन्त्रलाई सुदृढ पार्न र आत्मनिर्भरमुखी उद्योग स्थापना गर्न सङ्घीय सरकारले मझौला, घरेलु उद्यमी र उद्योग व्यवस्थापकलाई भौतिक सुविधा उपलब्ध गराउने र उद्योग सञ्चालन नभएको अवस्थामा सरकारलाई तिर्नुपर्ने विभिन्न करलाई केही प्रतिशतसम्म मात्र भए पनि मिनाहा दिनुपर्ने धारणा व्यक्त गरे। 

नेपाल औद्योगिक व्यवस्थापन लिमिटेडका अध्यक्ष बस्नेतले सङ्घीय सरकारद्वारा स्थापना गरिएको मयुरधाप औद्योगिक क्षेत्रको आगामी दुई वर्षभित्र भौतिक पूर्वाधार विकासको निर्माण गर्ने र उक्त औद्योगिक क्षेत्रमा नयाँ–नयाँ उद्योगहरु स्थापना गर्ने उद्यमीहरुलाई आगामी पाँच वर्ष भित्रसम्ममा जग्गा भाडामा लिने रकम पूरै छुट दिने घोषणा गरे। 

उनले उक्त औद्योगिक क्षेत्रमा ६२ वटा प्लटिङ छुट्याइ प्रत्येक उद्यमीहरुलाई उद्योग स्थापना गर्ने जग्गा, विद्युत्, बाटो, पिउने पानी र आवश्यक भवनहरु निर्माण गरी हस्तान्तरण गर्ने लक्ष्य रहेको बताए। 

मन्त्री भट्टले  मयुरधाप औद्योगिक क्षेत्रको स्थापनका लागि योगदान गर्नुहुने तत्कालीन संविधानसभाका सदस्य अनन्तप्रसाद पौडेललाई दोसला ओढाई सम्मान व्यक्त गरे। 

मयुरधाप औद्योगिक क्षेत्रमा पूर्वाधार विकासका लागि रु सात अर्ब दुई करोड १४ लाख सरकारी क्षेत्रबाट लगानी गरी निर्माण कार्य यथाशीघ्र प्रारम्भ गर्ने लक्ष्य रहेको हेटौँडा औद्योगिक क्षेत्रका प्रबन्धक राजेन्द्रप्रसाद कँडेलले बताए। 

निकट भविष्यमा सो औद्योगिक क्षेत्रमा विभिन्न उद्योग स्थापना गरी सञ्चालन हुँदा प्रत्यक्ष÷अप्रत्यक्ष गरी १० हजार व्यक्तिले रोजगारका अवसर प्राप्त गर्ने भएको बताइएको छ। रासस  

प्रकाशित मिति: : 2021-02-26 20:35:00

प्रतिकृया दिनुहोस्