सुनको आपूर्ति बढाउन पहल गर्ने मन्त्री भट्टको आश्वासन 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुनको आपूर्ति बढाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन्।

बजारमा कच्चा सुनको अभाव तत्काल आपूर्ति वृद्धि गर्न सुनचाँदी ब्यवसायीहरुले गरेको आग्रहपछि मन्त्री भट्टले यस्तो आश्वासन दिएका हुन्।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा बिहिबार गएको सुनचाँदी ब्यवसायी महासंघको प्रतिनिधीमण्डलसँग मन्त्री भट्टले बजारमा देखिएको सुनको अभावबारे आफू पनि जानकार रहेको बताए।

बजारको आवश्यक अनुसार कच्चा सुन आपूर्ति नभए त्यसले कालोबजारीलाई समेत प्रोत्साहनगर्न सक्ने तर्फ सचेत रहनुपर्ने आवश्यकता उनले औंल्याए।

त्यसक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न मन्त्री भट्टसँग आग्रह गरेका थिए।

उनले सरकारले कोभिडका कारण भएको लकडाउनका क्रममा घटाएको कोटा अझै वृद्धि नगरेकोले अहिलेको समस्या आएको उल्लेख गरे।

अहिले बजारमा दैनिक २५ देखि ३० किलो सम्म सुनको माग रहेकोले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनुपर्ने आवश्यकता उनले औँल्याए।

आवश्यकता अनुसार कच्चा सुन सहज रुपमा उपलब्ध नहुँदा बजारमा अवैध रुपमा सुन भित्रिन सक्ने र त्यसवाट सरकारी राजस्व समेत गुम्ने खतरा रहेको उनले स्मरण गराए।

पछिल्लो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ। लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो।

प्रकाशित मिति: : 2021-03-04 16:59:00

प्रतिकृया दिनुहोस्