यारको पत्र विप्लवलाई

अनलाइनखबर

काठमाडौं

प्रिय यार विप्लव

अभिवादन !

`यार´ भन्ने सम्बोधन अप्रिय त लागेको छैन नि ? मलाई विश्वास छ, तिमीलाई यो सम्बोधन पक्कै प्रिय लाग्नेछ। किनकि, विगतमा हामी एकअर्कालाई यसरी नै सम्बोधन गर्थ्यौं। प्रिय यार नेत्र ! अझ मैले तिमी पनि पो भनेँ  त। रिसाउँदैनौ नि ? हामी विद्यार्थी जीवनमा पनि `तिमी´ सम्बोधनमै रमाउँथ्यौं, पछि क्रान्तिकालभरी पनि यही सम्बोधनमा रमायौं। आज पनि मलाई तिमीप्रति सम्मान र प्रेम व्यक्त गर्न यही शब्द उपयुक्त लाग्यो। हाम्रो उपनाम जुराउनुभन्दा पहिला हाम्रो नाम त नेत्र र गंगा नै हो नि है ! तिमी नेत्र विक्रम चन्द, म गंगा श्रेष्ठ। यही नामले तिम्रो र मेरो परिचय भएको थियो।

तिमी वार्तामा आयौ। त्यसैमा म खुब खुसी छु। मेरो विश्वास छ, सरकारले पनि तिमी र तिम्रो पार्टीविरुद्ध दाउपेच गर्नेछैन र तिमीले पनि। सरकार, तिमी र तिम्रो पार्टी साँच्चै नेपाल  र नेपाली नागरिकप्रति जिम्मेवार र जवाफदेही बन्नेछन्।

प्रिय साथी ! विगतका ती दिनहरू आज पनि मेरो स्मृतिमा ताजै छन्। विगतका हाम्रा ती वाचा र प्रतिबद्धताहरू गंगाले विस्मृतिमा पुरेकि भन्ने तिमीलाई लागेको छ भने, त्यो तिम्रो भ्रम मात्रै हो। बर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक असमानताका विरुद्ध लड्ने हाम्रो प्रतिबद्धतामा आज पनि म चट्टानजस्तै दृढ छु। पक्कै पनि यी असमानता र विभेदविरुद्धका हाम्रो लडाइँको तरिकाहरू केही समय फरक भएकै हुन्। तर अब मलाई विश्वास छ, हामी एकै ठाउँमा हुनेछौं।

प्रिय साथी ! जुनबेला हामी विद्यार्थी राजनीतिमा सक्रिय थियौं; ती दिनहरू त तिमीले भुलेका छैनौं नि ? तिमी रोल्पाबाट उच्च शिक्षा हासिल गर्ने सपना बोकेर काठमाडौ आयौ, म सिन्धुलीबाट। हाम्रो भेट काठमाडौमा भयो। हाम्रो सपना मिल्यो। हाम्रो उद्देश्य मिल्यो। हाम्रो लक्ष्य एउटै थियो। त्यसैले हामी एक भयौं। पहिले चिन्दै नचिनेका हामी तपाईंबाट तिमीमा झर्‍यौं। साँच्चै मित्र ! हामी विचारमा मात्रै होइन, भावनामा पनि एक भयौं। प्रेमिल जोडीजस्तै।

प्रकाशित मिति: : 2021-03-05 10:03:00

प्रतिकृया दिनुहोस्