बादल जब गर्जिन्छन्   

पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रिय बनेपछि उनकै समकक्षी रामबहादुर थापा ‘बादल’ को तेजोबोध गरेका बर्षामान पुन ‘अनन्त’ ले सार्वजनिक कार्यक्रममा भनेका थिए, ‘नगर्जिने बादलको अब काम छैन।’

तर, यतिबेला बादल गर्जिएका छन्। उनको गर्जनले प्रचण्ड–माधव ‘क्याम्प’ मा ठूलो हलचल ल्याएको छ। हाल गृहमन्त्रीको भूमिका निर्वाह गरिरहेका बादल बोल्दै बोल्दैनन्। तर, जब उनी गर्जिन्छन्– नेपाली राजनीतिमा त्यसको कम्पन सहजै महसुस गर्न सकिन्छ। 

यस्तै, कम्पन अहिले नेपाली राजनीतिमा देखिएको छ। प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ लाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराएपछि प्रचण्ड–माधव ‘क्याम्प’ मा ९ रेक्टरको भूकम्प महसुस गरिएको छ। यसमा पनि सर्वोच्च अदालतले नेकपाको नामको विवादमा ऋषि कट्टेलको नेकपालाई मान्यता दिएपछि बादलको गर्जन स्वभाविक बन्न थालेको छ। 

२०६२–६३ मा नेकपा माओवादी शान्तिपूर्ण राजनीतिमा फर्किएपछि विप्लवलाई राजनीतिक प्रतिस्पर्धी ठानेका थिए, प्रचण्डले। प्रचण्डकै कारण विप्लव पुनः जंगल फर्किन विवश बनेको सर्वविदितै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बीचमा विप्लवलाई पुनः मुलधारमा ल्याउन नखोजेका होइनन्। तर, प्रचण्डसँग पार्टी एकता गरेका कारण सफल हुन सकेका थिएनन्। 

कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा प्रधानमन्त्री ओलीले संसदबाट सर्वसहमतिले पास गराएपछि प्रचण्ड एक्कासी सरकार ढाल्ने खेलमा लागे। नतिजा नेकपा विभाजनको संघारमा पुगेको बेला सर्वोच्चको निर्णयपछि नेकपा एमाले र माओवादी केन्द्र पुनः ब्युतिएको छ। पार्टी एकीकरण हुनुअघि माओवादी केन्द्रमा रहेका बादलले पूर्व पार्टीमा नफर्किने संकेत गरिसकेका छन्। यसले उनी केपी ओली अर्थात नेकपा एमालेमा रहने स्पष्ट भइसकेको छ। 

त्यसैले पनि अहिले बादलको गर्जन प्रस्ट बुझ्न सकिन्छ– विगतमा पार्र्टी बिसर्जन गराउँदै हिँडेका प्रचण्डबाट नेपाली कम्युनिस्ट धरासायी हुने उनको ठहर हो। 

वास्तवमा बादल आफ्ना पुराना मित्र तथा कमरेड प्रचण्डलाई छोडेर ओलीतर्फ त्यतिबेला खुलेका थिए, जतिबेला नेकपाका नवनियुक्त केन्द्रिय सदस्य प्रधानमन्त्री निवास बालुवाटारमा सपथ खादैथिए। उनले त्यही कार्यक्रममा उद्घोष गरेका थिए, प्रचण्ड–नेपाल समूह प्रतिक्रान्तिको मतियार हुन्। 

त्यतिबेला बादलको गर्जन थियो,‘अब नयाँ क्रान्ति गर्नुपर्ने ऐतिहासिक अभिभारा पैदा भएको छ। प्रतिक्रान्तिलाई रोक्न हामीले नयाँ क्रान्तिको नेतृत्व गर्नुपर्छ।’  

प्रचण्डले मांशहारी आन्दोलन गर्छु भनिरहेको बेला बादलको गर्जन थियो, ‘ती मांशहारी आन्दोलन गर्नेहरूलाई हाम्रो संविधानले, हाम्रो कानुनले अपराधी घोषित गरेको छ। र, ती अपराध गर्नेहरूलाई, ती मांशहारी आन्दोलन गर्नेहरूलाई जावलाखेलको ‘जु’ मा लगेर बन्द गरिने छ।’

राजधानी बाहिर भएको अर्को सभामा प्रचण्डतर्फ इंकित गर्दै बादल पुनः गर्जिए, ‘तपाईलाई अब फेरि प्रधानमन्त्री हुनुछ भने आउनुस् वर्ग संघर्षमा। जनताको बीचमा जानुस्। जनताको जनमत लिनुस्। अनि प्रधानमन्त्री हुनुस्।’ 

जनयुद्धको नाममा कुनैबेला देशका मुलवासी रैथानेलाई बन्दुक बोकाएका प्रचण्ड यतिबेला फेरि प्रधानमन्त्री बन्न भारतको गुलामी गरिरहेका छन्। प्रभुसँग गिडगिडाई रहेका छन्। रोइकराई गरिरहेका छन्। राष्ट्रिय स्वाभिमानलाई बन्धक राखेर सत्ताको लागि प्रभुसँग लम्पसार परिरहेका छन्। भनिरहेका छन्–‘म तिम्रो पाउँमा छु प्रभु। मलाई फेरि प्रधानमन्त्री बनाइदेउ।’

प्रधानमन्त्री बन्न १७ हजार मानवबली 

१ फागुन २०५२ मा रोल्पाको होलेरीस्थित प्रहरी चौकी आक्रमण गरेर सुरु भएको थियो, जनयुद्ध। भिषण भिडन्त र मुठ्भेड हुँदै १७ हजार बढीको रगतसँग होली खेलेका प्रचण्ड जनयुद्धको १० बर्ष बित्न नपाउँदै ‘ढाँडमा टेकेर टाउकोमा हान्ने’ भन्दै शहर छिरेका थिए। 

संसदीय राजनीतिलाई ‘बाख्राको टाउको देखाएर खसीको मासु बेच्ने’ बिकृत राजनीतिक थलो मान्ने उनी सिंहदरबार छिरेको छोटो अवधिमै चुनावी प्रक्रियामार्फत प्रधानमन्त्री बनेका थिए। 

प्रधानमन्त्री बनेपछि प्रचण्डको वास्तविक अनुहार छर्लङ भएको थियो। सुत्नको लागि महंगो पलङ, कपालमा अनिवार्य जेल हाल्नुपर्ने आवश्यकता, छाकैपिच्छे लोकल कुखुराको मासु र घ्यु, सर्वहारा नेताको नाटकमञ्चन गरिरहेका प्रचण्डका लागि आफ्नो वर्ग बिर्सनु अस्वभाविक थिएन। आखिर उनले गरेपनि त्यही। 

जनयुद्धको बाँकी कार्यभारबाट बिमुख उनी द्वन्दकालिन घटनाका अवशेषलाई तात्त्विक निष्कर्षमा पुर्याउने दायित्वबोधबाट पनि च्यूत भए। 

युद्ध लडेका हजारौँ योद्धा, कार्यकर्ता, टुहुरा र महिला जीवन गुजाराका लागि छटपटाइरहँदा उनी प्रधानमन्त्री बन्न सुकिला–मुकिलाले लगाउने कोट टकटकाउँदै थिए। 

‘बन्दुकको नालबाट सर्बहारा बर्गको सत्ता स्थापित हुने’ सपना देखाएर निमुखा हजारौँ गरिबका छोराछोरीलाई बन्दुक बोकाएका उनी शान्तिवार्ताको आवरणमा उनीहरूलाई ‘क्यान्टोन्मेन्ट’ मा थन्काएर तिनै छापामारको नाममा अर्बौको सम्पत्ति राज्यकोषबाट कुम्ल्याउन सफल भए। जनयुद्धका बाँकी कार्यभारलाई तिलाञ्जली दिएका प्रचण्डहरूले सुमार्गीहरूसँग मिलेर मुक्ति टावर खडा गरे। विदेशी बंैकमा पैसा जम्मा गरे।  

यतिबेला बादल र विप्लवसँग बिद्रोह गर्नुबाहेक अन्य विकल्प थिएन। त्यसैले उनीहरूले बीचमा सम्बन्ध बिच्छेद गर्दै अर्को विकल्प नरोजेका होइनन्।

बादल र विप्लव दुबै बिद्रोही स्वभावका नेता हुन्। आफ्नो सुन्दर देश नेपाललाई गोबरले पुरेको र त्यही गोबरलाई सोहर्न आफूले बन्दुक उठाएको अभिब्यक्ति दिने गरेका बादल केही समय प्रचण्डको क्याम्पमा पुनः फर्किए। उनको त्यो निर्णयलाई केहीले ‘लोभ र चाकडी’ को संज्ञा दिए। तर, वास्तवमा त्यो लोभ पनि थिएन, चाकडी पनि थिएन। उनी रणनीतिक हिसाबले प्रचण्ड क्याम्पमा पुनः फर्किएका थिए। 

उनलाई थाहा थियो, युद्धमा होमिएका हजारौं कार्यकर्ता रोग र भोकमा थलिएका छन् र उनीहरूको नाममा प्रचण्डहरूले अर्बौ रुपैयाँ कुम्ल्याएका छन्। उनी ती कार्यकर्ताको सुरक्षित भविस्यका लागि पुनः फर्किएका थिए। 

वास्तवमा अहिले विप्लवलाई पुनः शान्तिपूर्ण राजनीतिमा फर्काउन बादलको ठूलो हात छ। सरकारले विप्लव समूहसँग तीन बुँदे सम्झौंता गर्दा प्रधानमन्त्री ओलीले एक वर्षदेखि वार्ता चलिरहेको बताएका थिए। त्यो वार्ताको वातावरण प्रचण्डलाई पनि पत्तो नदिइकन उनै बादलले मिलाएका थिए। 

यसैले अहिले राजनीतिक वृत्तमा चर्चा चलेको छ– बादल गर्जिदा नेपाली राजनीतिको ‘कोर्ष’ परिवर्तन हुन्छ भने उनी बर्सिदा के होला? 

प्रकाशित मिति: : 2021-03-09 08:03:00

प्रतिकृया दिनुहोस्