अब खिच्न पाइदैँन 'सगरमाथामा ट्राफिक जाम'

अब नेपालका हिमालमा फोटो तथा भिडियो खिच्न नपाइने भएको छ। 

पर्यटन विभागले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै हिमाल चढ्ने समयमा नेपाली तथा विदेशी कुनै पनि पर्वतारोही र पर्वतारोहण दलका सदस्यले आरोहण गतिविधिबाहेक अन्य प्रयोजनका लागि फोटो भिडियो खिच्न नपाउने निर्देशन जारी गरेपछि यस्तो परिस्थिति सिर्जना भएको हो। 

निर्देशनमा भनिएको छ, ‘कुनै पनि पर्वतारोही दल तथा दलका सदस्यले फोटो, भिडियो तथा फिल्मिङ सम्बन्धी काम गर्दा आफू सम्बद्ध दल र दलका सदस्यको आरोहण गतिविधिबाहेक अन्यको फोटो, भिडियो खिच्ने तथा फिल्मिङ सम्बन्धी काम गरी त्यसको प्रचारप्रसार तथा प्रकाशन गर्न पाइने छैन।’ 

अब 'सगरमाथामा ट्राफिक जाम' जस्ता 'समाचार मूल्य' भएका तस्वीर देख्न नपाइने भएको छ। पर्यटन विभागले मंगलबार हिमाल चढ्ने समयमा कुनै पनि पर्वतारोही र पर्वतारोहण दलका सदस्यले आरोहण गतिविधिबाहेक अन्य प्रयोजनका लागि फोटो तथा भिडियो खिच्न नपाउने निर्देशन जारी गरेपछि यस्तो परिस्थिति सिर्जना भएको हो।

विगतमा सगरमाथालगायतका हिमालमा पर्वतारोही टोलीले अन्य प्रयोजनका लागि फोटो, भिडियो र फिल्मिङ गरेर भ्रमहरू सिर्जना गरेकाले त्यस्ता गतिविधिलाई निरूत्साहित गर्न यस्तो निर्देशिका जारी गरिएको पर्यटन विभागका एक अधिकारीले वीएल नेपालीलाई बताए।

यसअघि नेपाली आरोही निर्मल पुर्जाले सगरमाथाको हिलारी स्टेपमा आरोहीहरूको भीड देखिने गरी  खिचेको फोटो ‘सगरमाथामा ट्राफिक जाम’ शीर्षकमा दी न्युयोर्क टाइम्समा छापिएपछि सनसनी मच्चिएको थियो। 

यसैगरी केही समय अगाडि जीन्यूजका सम्पादक सुधिर चौधरीले सगरमाथाको कालापत्थर पुगेर सगरमाथामा भारतको समेत दावी हुनुपर्ने बताउँदै एक विवादास्पद रिपोर्ट प्रसारण गरेका थिए। 

यस किसिमका गतिविधिले जोखिम बढाएकाले पर्यटन विभागले फोटो भिडियो खिच्न मनाही गरेको हो । पर्वतारोहणका दौरान आरोहणबाहेक अन्य गतिविधि गर्ने गर्न पर्यटन विभागबाट अग्रीम स्वीकृति लिनुपर्ने पनि निर्देशिका जारी गरिएको छ। 

प्रकाशित मिति: : 2021-03-09 22:53:00

प्रतिकृया दिनुहोस्