केआईईटीमा प्रिसा साह मृत्यु: नेपालले कुटनीतिक पहल थाल्यो, तत्काल छानबिन गर्न ओडिसा सरकारको आदेश

भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा फेरि एकजना छात्राले आत्महत्या गरेपछि त्यसबारे चौतर्फी चासो र चिन्ता व्यक्त भएको छ। 

बिहीबार साँझपख उनलाई विश्वविद्यालयका कर्मचारीहरूले छात्राबासको आफ्नै कोठामा मृत फेला पारेका थिए। खबरको पुष्टीपछि नेपालको परराष्ट्र मन्त्रालयले पनि त्यसबारे कुटनीतिक पहल अघि बढाएको छ। 

परराष्ट्रमन्त्री आरजु राणा देउवाले उक्त घटनापछि दूतावासमार्फत घटनाको सत्य,तथ्य छानबिन गर्न र कुटनीतिक पहल थालेको बताएकी छन्। 

‘केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह आफ्नै होस्टेल कोठामा मृत भेटिएको घटनाले निकै मर्माहित बनाएको छ। प्रिसाको आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा उनको परिवाजनमा गहिरो समवेदना व्यक्त गर्दछु’ परराष्ट्रमन्त्रीले भनेकी छन् ‘परराष्ट्र मन्त्रालयले घटना लगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको छ।’

बारा जिल्लाकी प्रिसा त्यो विश्वविद्यालयकी बिटेक दोस्रो सेमेस्टरकी विद्यार्थी हुन्। उनी आफ्नै कोठामा मृत फेला परेकी थिइन्। बिहीबार साँझदेखि नै घटनास्थल प्रहरीले नियन्त्रणमा लिएको छ। र कलेज प्रशासन तथा विद्यार्थीहरूसँग सोधपुछ गरिरहेको छ। 

उनका आफन्तहरू नेपालबाट हिँडिसकेका छन्। प्रहरी-प्रशासनले आफन्तको रोहबरमामात्रै पोस्टमार्टम गर्ने भनेको छ। फरेन्सिक प्राविधिकहरू पनि घटनास्थल पुगेर प्रमाणहरू संकलनमा जुटेका छन्। 

यसबीचमा ओडिसा सरकारले पनि उक्त घटना छानबिनको आदेश दिएको छ। ओडिसा राज्य सरकारको अन्तर्राष्ट्रिय तथा जनसम्बन्ध विभागले नेपाली छात्राको निधनप्रति दु:ख व्यक्त गर्दै आवश्यक छानिबन गर्न स्थानीय प्रहरी-प्रशासनलाई आदेश दिएको छ। 

भारतको सबैभन्दा ठूलो विद्यार्थी सञ्जाल अखिल भारतीय विद्या परिषद (एबिभिपी)ले विश्वविद्यालय प्रशासनमाथि गहिरो छानबिन गर्न र दोषीलाई तत्काल कारबाही गर्न भनेको छ। 

‘एकपछि अर्को गर्दै नेपाली विद्यार्थीहरूले लगातार आत्म गरिरहँदा पनि सरकार किन मौन बसिरहेको छ। यसरी विद्यार्थीहरूलाई निरन्तर आत्महत्या गर्न बाध्य बनाउनु निकै घीनलाग्दो र लज्जास्पद छ’ एबिभिपीले भनेको छ ‘राज्य प्रशासन र सरकारले यो विश्वविद्यालयमाथि तत्काल कुनै कारबाही प्रक्रिया अघि बढाओस् र आत्महत्या गरिरहेका विद्यार्थीहरू उचित छानबिन गरोस्।’

यो विद्यार्थी संगठन भारतीय जनता पार्टीको मातृ संस्था आरएसएसको विद्यार्थी संगठन हो। 

यही विश्वविद्यालयमा यसअघि पनि नेपाली विद्यार्थी प्रकृती लम्साल मृत फेला परेकी थिइन्। त्यो बेला उनलाई पछ्याइरहेका एकजना भारतीय युवकले उनलाई निरन्तर मानसिक यातना र ब्ल्याकमेलिङ गर्दै आएका थिए। 
घटनापछि उनको मृत्युबारे छानबिन हुनुपर्ने भन्दै नेपाली विद्यार्थीले आन्दोलन गरेका थिए। तर विश्वविद्यालय प्रशासनले सबै नेपाली विद्यार्थीलाई अपशब्द बोल्दै त्यहाँबाट निकालेको थियो। 

दोस्रो नेपाली छात्राको पनि मृत्यु भएपछि भारतको सबैभन्दा ठूलो विद्यार्थी सञ्जाल अखिल भारतीय विद्या परिषद (एबिभिपी)ले विश्वविद्यालय प्रशासनमाथि गहिरो छानबिन गर्न र दोषीलाई तत्काल कारबाही गर्न भनेको छ। 

प्रकाशित मिति: : 2025-05-02 09:03:00

प्रतिकृया दिनुहोस्