घाँस बेचेर मनग्य आम्दानी गर्दै बामदेव

जिल्लाको म्याग्दे गाउँपालिका-१ गुणादीका बामदेव खनालले घाँस बेचेर नै मनग्य आम्दानी गर्दै आएका छन्।

खनाल नामसँगै दाम कमाउँन थालेपछि यतिखेर उनी घाँसी नामले परिचित छन्। भानुभक्त आचार्यलाई आदिकविको स्थान र सम्मानमा घाँसीको प्रेरणाले पु¥याएको थियो। उनी तनहुँकै थिए ।

‘राष्ट्रिय घाँस गुरु’ पुरस्कारबाट पुरस्कृत खनालले २३ वर्षदेखि घाँस खेती गर्दै आएका छन्।  पछिल्ला वर्षमा धेरैले घाँसी बा भनेर बोलाउँदा आफूलाई निकै खुशी लाग्ने गरेको उनले बताए। घाँस बेचेर राम्रो आम्दानी गरेका उनले यसै वर्ष असार र साउन महिनामा रु २० लाख बराबरको घाँसको बेर्ना मात्रै बिक्री गरेको सुनाए। 

पाँच वर्षयता यस पटक धेरै कमाइ भएको उनले बताए। कोरोना भाइरसको सङ्क्रमणले कृषि पेशाप्रति मानिसको चासो बढेकाले घाँसको माग बढेको छ। “भूकम्प गएको वर्ष २०७२ सालमा पनि राम्रै कमाएको थिएँ, त्यसपछि यसैपाली हो कमाइ भएको”, खनालले भने, “वार्षिक घाँस बेचेर १२ देखि १५ लाख रुपैयाँ कमाउँदै आएको छु।”

करीब एक सय रोपनी क्षेत्रफलमा उन्नत जातको घाँस खेती गर्दै आएको बताउँदै उनले ६० रोपनी आफ्नै र ४० रोपनी जग्गा भाँडामा लिएका छन्।

खनालले बडहर, राइखनियो, टाँकी, कोइरालो, बकाइनो, पाखुरी, चिउरीलगायतको डाले घाँस तथा सुपर नेपियर, सियोफोर, सम्बा सेटारिया, पास पालम, मुलाटो र बलामेलगायत उन्नत र भूइँ घाँसका बिरुवा बिक्री गर्दै आएका छन्। पछिल्लो समय सुपर नेपियरको बिरुवा माग धेरै भएकाले अब त्यसतर्फ बढी चासो देखिएको छ। रासस 

प्रकाशित मिति: : 2021-03-10 16:46:00

प्रतिकृया दिनुहोस्