सडक लथालिंग पारेका शारदा अधिकारीको विरोधमा 'पोस्टर' अभियान

नेपाल लाइभ

काठमाडाैं

काठमाडौं- विभिन्‍न आयोजना निर्माण गर्ने जिम्मा पाएका ठेकेदार कम्पनीहरूले समयमै काम नगरेपछि स्थानीयले स्वतस्फूर्त रूपमा विरोध गर्ने क्रम बढेको छ। केही वर्षयता स्थानीयले नयाँ-नयाँ शैलीमा विरोध जनाउँदै ठेकेदारलाई दबाब दिँदै आएका छन्। 

यही क्रममा बालाजु-त्रिशूली सडकखण्ड निर्माणको जिम्मा पाएको ठेकेदारविरुद्ध विरोधमा स्थानीय जुटेका छन्। ठेकेदार कम्पनीले समयमा काम नगरेपछि दबाब दिन स्थानीयले पोस्टर टाँस्न थालेका छन्। उनीहरुले ठेकेदारको फोटोसहित दबाबमूलक सन्देश लेखिएको पोस्टर बिजुलीको पोल तथा सार्वजनिक सवारीमा टाँस्न थालेका हुन्। 

सडक आयोजनाहरू समयमा नै सम्पन्‍न नहुने समस्याले सरकार तथा सडक उपभोक्ता आममानिस आक्रान्त बनेका छन्। ठेकेदार कम्पनीहरुले सडकको ठेक्का लिने र विभिन्‍न बहानामा समयमा काम नगर्ने प्रवृत्ति मुलुकको लागि ठूलो समस्या बन्दै आएको छ। यस्तो प्रवृत्तिबाट आजित बनेका स्थानीय स्वतस्फूर्त रुपमा विरोधमा उत्रिएका हुन्। 

बालाजुदेखि त्रिशूलीसम्मको सडक स्तरोन्‍नतिका लागि सरकारले भारतको एक्जिम बैंकसँग ऋण लिएर काम सुरु गरेको थियो। बालाजुदेखि नुवाकोटको पिपलटारसम्मको सडकलाई दुई खण्डमा विभाजन गरेर विस्तारको काम सुरु गरिएको हो।

बालाजु-रानीपौवा सडकखण्डअन्तर्गतको १७ किलोमिटर सडक निर्माणका लागि एआइपिएल-सैलुङ जेभीले ठेक्का पाएको थियो। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदा अधिकारीको कम्पनी सैलुङले उक्त खण्ड निर्माणको ठेक्का पाएको हो। यो सडक निर्माणको सम्झौता २०१४ को जुनमा भएको थियो। सम्झाैताअनुसार २०१६ को जुनमै सडक निर्माण सम्पन्‍न हुनुपर्थ्यो।

प्रकाशित मिति: : 2021-03-14 19:09:00

प्रतिकृया दिनुहोस्