सत्ताले कम्युनिस्ट बनाएका ऋषि कट्टेल

ऋषि कट्टेलको घर।
ऋषि कट्टेलको घर।

छोराको एउटा अठोटले मुलुकको राजनीतिमा उथलपुथल भएकोमा ९६ वर्षकी आमा इच्छावतीमा न कुनै हर्ष छ न त विस्मात।

‘सबैले मोबाइलमा हेर्छन्। मलाई पनि देखाउँछन्, यी तपाईंका छोराले मुद्दा जितेछ, सबैलाई पल्टाएछ भन्छन्। यति भएपछि अब ऋषिले के पाउँछ, पेन्सन पाउँछ ?’ इच्छावती सोध्छिन्।

१९ वर्ष पढाएर पेन्सन पाउने बेला सरकारी जागिर छाडेर राजनीतिमा होमिएपछि उनको मनमा लागेको चोट अहिलेसम्म पुरिएको छैन। ऋषि कट्टेलले पेन्सन पाएको हेर्ने इच्छावतीको ठूलो इच्छा छ।

दुई वर्षसम्म दुईतिहाइको सरकारको राज गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई अलग्याएपछि चर्चामा छन्, ऋषि कट्टेल।

गोरखा नगरपालिका– ८ कट्टेलडाँडाको घरमा रहेकी आमालाई भने यो फैसलाले खासै उत्साहित बनाएको छैन। ‘नाम चलेर के पाउँछ र ? पेन्सन पाउँछ ? केही पनि पाउँदैन रहेछ। एउटा सरकारी जागिर खाएर पैसा कमाइदिए, पेन्सन पाइदिए रमाइलो हुन्थ्यो’, रेडियो, टेलिभिजनमा छोरालाई देखेर, सुनेर खुसी हुँदै आमा भन्छिन्, ‘एकै वर्ष पख्, तेरो पेन्सन आउँछ भनेर परान परेको हामी। तर मानेन। जेसुकै भन्नु, राजनीति त म छाड्दै छाड्दिनँ, गर्धन गए नि भनेको। बाउलाई एउटा राम्रो टोपी पनि किनिदिएन। मेरो दुःख त्यसै खेर गयो भन्नुहुन्थ्यो बा।’

प्रकाशित मिति: : 2021-03-15 13:56:00

प्रतिकृया दिनुहोस्