विद्यार्थी र पत्रकार पुरस्कृत

विश्व उपभोक्ता दिवसको अवसरमा ‘उपभोक्ताको हक, हित कार्यान्वयनमा विद्यार्थीको भूमिका’ विषयक निबन्ध प्रतियोगिताको विजेता चार विद्यार्थी पुरस्कृत भएका छन्।

प्रतियोगितामा प्रथम जनता मावि इटहरा मोरङका विद्यार्थी रोशिका अधिकारी, द्वितीय अरनीको आवासीय उच्च मावि विराटनगरका लुना किरण सापकोटा, तृतीय सुनपुकुवा मावि उर्लाबारीका अञ्जान मिश्र र चौथौ स्थान प्राप्त गर्न सफल गोकुण्डेश्व मावि धनकुटाका पुष्पदीप विश्वकर्मा छन्। उनीहरुले क्रमशः रु १२ हजार, १० हजार, आठ हजार र पाँच हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरे। 

उपभोक्ता हकहितमा समाचार सम्प्रेषण गर्ने ब्लाष्ट दैनिक पत्रिकाका पत्रकार अनिल श्रेष्ठलाई पनि रु पाँच हजार नगद र प्रमाणपत्र प्रदान गरियो। ‘प्लाष्टिक प्रयोगमा निरुत्साहन, वातावरण संरक्षणमा योगदान’ प्रमुख नाराका साथ मनाइएको सो कार्यक्रममा उपभोक्ता सचेत, व्यापारी इमान्दार हुनुपर्ने र नियमक कार्यालयको गतिविधि पारदर्शी एवं स्पष्ट हुनुपर्ने धारणा सहभागीले राखेका छन्। 

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले उपभोक्ता हकहितका लागि बनाइएको ऐन, नियम र कानूनलाई सबैले इमान्दारीपूर्वक पालना गर्नुपर्ने भन्दै शिक्षा र स्वास्थ्यका क्षेत्रमा अझै पनि उपभोक्ताहरु मार परिरहेको पाइएको जानकारी दिए।

 वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले चालू आवको दोस्रो चौमासिकसम्मको कार्यालयको गतिविधि बारेमा प्रष्ट पारे। रासस 

प्रकाशित मिति: : 2021-03-15 21:07:00

प्रतिकृया दिनुहोस्