काठमाडौँ महानगरपालिकाले अस्थायी बसपार्कलाई अन्यत्र सारेर खुला मञ्चलाई खाली गर्ने भएको छ।
विगत पाँच वर्षदेखि खुलामञ्चबाट बसपार्क सञ्चालन हुदै आएको छ। बसपार्क सञ्चालन भएको र गोरखा भुकम्पपछि ऐतिहासिक सम्पदाको पुनःनिर्माणका क्रममा निर्माण सामग्री राखिँदा खुलामञ्च खुम्चिएको थियो।
केही सम्पदाहरुको निर्माण सम्पन्न भइसकेको र केहीको अन्तिम चरणमा रहेकाले खुलामञ्च खाली गर्न सहज भएको कामपाको भनाइ छ।
कामपाले एक महिनाअघि पहिलो चरणमा केही संरचना र बारबेर हटाइसकेको थियो। अहिले भने बसपार्क अन्यत्र सार्ने र बाँकी रहेका निर्माण सामग्री हटाउने काम थालेको छ।
कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), दरबार हाइस्कुल र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई पत्र पठाएर खाली गर्ने वातावरण बनाउन आग्रह गरिएको छ।
दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुनःनिर्माण अन्तिम चरणमा पुगेकाले बाँकी सामग्री र संरचना हटाउन थालिएको प्रवक्ता डङ्गोलको भनाइ छ।