मध्यपहाडीको पूर्वी खण्डमा कालोपत्रेको काम सुरु

पुष्पलाल (मध्यपहाडी)  राजमार्गको पूर्वी खण्ड कालोपत्रको चरणमा पुगेको छ।

कूल ३८३ किलोमिटर लम्बाइको पूर्वी खण्डको सबै भाग ट्र्याक खोलिएको १० वर्षपछि कालोपत्रको चरणमा पुगेको हो। पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय पाँचथरका अनुसार पूर्वी खण्डमा पर्ने सबै उपखण्डमा कालोपत्रका लागि ठेक्का लागेको छ। 

सरकारी लक्ष्यअनुसार आगामी आर्थिक वर्षमा पूर्वी खण्डको कालोपत्र सम्पन्न हुनुपर्ने भए पनि उद्गम उपखण्ड कालोपत्रको गत माघमा मात्रै ठेक्का लागेकाले कालोपत्र पूरा हुन अबको दुई वर्ष लाग्नेछ।

पूर्वी खण्डमा ट्र्याक खोलिए पनि कतिपय उपखण्ड वर्षौँदेखि ट्र्याकमै सीमित थिए भने कतिपय उपखण्डको मर्मत तथा स्तरोन्नति कार्य हुँदै आएका थिए। यद्यपि चालु आर्थिक वर्ष २०७७/७८ मा सरकारले सबै उपखण्ड कालोपत्रका लागि बजेट सुनिश्चित गर्दै ठेक्का लगाएपछि पूर्वी खण्ड नै कालोपत्रको चरणमा पुगेको हो।

पूर्वी खण्ड राजमार्गको उद्गम विन्दु पाँचथरको चिवाभञ्ज्याङबाट भोजपुरको चखेवासम्म रहेको छ। पूर्वी खण्ड पाँचथरमा १११ किलोमिटर, तेह्रथुममा ११६ किलोमिटर, धनकुटा ४८ किलोमिटर र भोजपुर १०८ किलोमिटर पर्छ। यस खण्डमा कालोपत्र भएका तीनवटा सडकसमेत समेटिएका छन्।

तिनको लम्बाइ १२८ किलोमिटर छ। पाँचथरमा पर्ने मेची राजमार्गको जोरसाल (फिदिम)–गणेशचोक ४० किलोमिटर, तेह्रथुम र धनकुटामा पर्ने वसन्तपुर–हिले सडक २२ किलोमिटर र धनकुटा र भोजपुरमा पर्ने लेगुवा–भोजपुर ६६ किलोमिटर छन्। यसबाहेकको २५५ किलोमिटर सडक राजमार्ग आयोजनाअन्तर्गत कालोपत्रको काम अगाडि बढेको हो।रासस

प्रकाशित मिति: : 2021-03-16 09:14:00

प्रतिकृया दिनुहोस्