रहेनन् प्राध्यापक माणिकलाल

फाइल तस्वीर
फाइल तस्वीर

वामपन्थी बुद्धिजीवी, नेपालभाषा साहित्यका वरिष्ठ समालोचक एवम् प्रगतिवादी साहित्यिक फाँटका एक प्रा. माणिकलाल श्रेष्ठको मगलबार बिहान निधन भएको छ।

लामो समय प्राध्यापन पेसामा रहेका श्रेष्ठ संवैधानिक कानुनमा स्नातक गर्ने नेपालको पहिलो व्यक्ति हुन भने नेपाल मार्क्सवादीका प्रथम प्रवक्तासमेत थिए। श्रेष्ठको जन्म विसं १९८९ मा भएको थियो।

८९ वर्षीय श्रेष्ठ लामो समयदेखि अस्वस्थ भई काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत थिए।

अस्पतालमा उपचारकै क्रममा श्रेष्ठको निधन भएको हो। उहाँका दुई छोरा छन्।

उनकी उनकी श्रीमती सिलु सिंह सर्वोच्च अदालतकी न्यायाधीश थिइन जसको गत साल निधन भएको थियो।

जेठो छोरा विदेशमा रहेकाले उनी नेपाल आएपछि मात्र श्रेष्ठको अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

श्रेष्ठ नेपाली कम्युनिस्ट तथा वाम आन्दोलनका बौद्धिक व्यक्तित्व थिए। नेवारी भाषा–साहित्य क्षेत्रमा उहाँको विशिष्ट योगदान रहेको छ। उनका साहित्यिक र राजनीतिक पुस्तकहरु प्रकाशित छन्।

श्रेष्ठले त्रिवि नेपालभाषा केन्द्रीय विभागमा पनि अध्यापन गरेका थिए।

नेपालको वामपन्थी आन्दोलनका अगुवा, वामपन्थी बौद्धिक व्यक्तित्व र नेवारलगायत आदिवासी जनजाति मुक्ति आन्दोलनका अगुवा श्रेष्ठ नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालका संरक्षक पनि थिए।

प्रकाशित मिति: : 2021-03-16 14:22:00

प्रतिकृया दिनुहोस्