फ्रान्सकी एक जना अभिनेत्रीले सरकारलाई आफ्नो सन्देश सुनाउन पुरस्कार वितरण समारोहमै आफ्नो कपडा फुकालेर नाङ्गै भएकी छिन्। उनले आफ्नो ढाडमा लेखेकाे सन्देश सरकारलाई देखाउन निर्वस्त्र भएकी हुन् ।
५७ वर्षीया अभिनेत्री कोरेन मासिरोले सरकारलाई आफ्नो सन्देश देखाउन यस्ताे कदम चालेकाे जनाएकी छिन। कोरेनले 'सिजर पुरस्कार समारोह' मा यस्ताे गरेकी हुन्। सिजर पुरस्कारलाई फ्रान्समा त्यहाँको ओस्कार पुरस्कार बराबर मानिन्छ।
कोरेनले मञ्चमा पुग्दा सामान्य कपडा पहिरिएकी थिइन्। उनलाई आयोजकले 'सर्वश्रेष्ठ पोशाक' को उपाधि लिन मञ्चमा बोलाएको थियो तर जब उनी मञ्चमा पुगिन्, आफूले लगाएकाे सबै कपडा फुकालेर सबैलाई आश्चर्यचकित पारेकी थिइन् ।
निर्वस्त्र भएकी उनले मञ्चतर्फ आफ्नो ढाड फर्काइन् । उनको नाङ्गो ढाडमा लेखिएको थियो, 'हाम्रो कला र संस्कृति जगेर्ना गर्न सरकारले कदम चालोस्।'
उनले फ्रान्समा लामो समयदेखि बन्द हुँदै आएको रङ्गमञ्च र कलाकारहरुको उत्थानको लागि यस्तो कदम चालेको बीबीसीले प्रकाशित गरेकाे समाचारमा उल्लेख छ।