बिनासुनावाई भारतीय जेलमा ४० वर्षेदेखि कैदी जीवन बिताउँदै आएका दीपक जोशीलाई रिहाई गर्न उच्च अदालतले आदेश जारी गरेको छ।
भारतको कोलकाता उच्च अदालतले आदेश जारी गरेसँगै जोशी थुनामुक्त भएका हुन्। भारतका विभिन्न जेलमा कैदी जीवन बिताउँदै आएका जोशीलाई छाड्न मंगलबार अदालतले आदेश दिएको हो।
कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार अदालतले रिहाईको फैसला सुनाएसँगै जोशीलाई उनका भाइ प्रकाशको जिम्मा लगाईएको छ।
जोशी सन् १९८१ मा हत्या आरोपमा दार्जिलिङबाट पक्राउ परेका थिए। तर उनलाई पक्राउ गरेर कुनै अदालतमा पेस गरिएको थिएन। पक्राउ पर्दा उनी मात्र ३६ वर्षका थिए, अहिले ७५ वर्ष पुगिसकेका छन्।
जोशीलाई जेलबाट छुटाउन जयन्तनारायण चटर्जीले मुद्दा लडेका थिए।