भक्तजनको भीड हुने पशुपति क्षेत्रस्थित जयबागेश्वरी मन्दिरअघि काठमाडौँ महानगरपालिकाले निर्माण शुरु गरेको आकाशे पुल एक वर्षदेखि अलपत्र बनेको छ।
महानगरपालिका-८ स्थित धेरै मानिसको आवतजावत हुने पशुपति क्षेत्रमा सडक पार गर्न सहज होस् भनी निर्माण शुरु गरिएको आकाशे पुल बिजुलीको तार भूमिगत नहुँदा अलपत्र बनेको वडाध्यक्ष दिनेशकुमार डङ्गोलले राससलाई जानकारी दिए।
महानगरपालिकाले ७७ लाखको लागतमा पुल निर्माण गर्न लागेको हो। मासिक लाखौँ मानिस पशुपतिनाथ मन्दिर दर्शनमा आउने गरेका छन्। आकाशे पुल नहुँदा दुर्घटनाको जोखिम बढेको छ।
सडकमा सवारी चाप भएका बेला सिफलबाट पशुपतितिर जान लामो समय कुर्नुपरेको दर्शनार्थी यात्रु रमा सिग्देलको गुनासो छ। रासस