ओलीलाई आफू नमर्दासम्म प्रधानमन्त्री भइरहन्छु भन्‍ने लागेको छ : वामदेव गौतम (अन्तर्वार्ता)

नेपाल लाइभ

काठमाडाैं

नेकपा (एमाले) दुई पक्षमा विभक्त छ। समानान्तर गतिविधि भइरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष एकअर्कासँग अलग्गिदै गइरहेको देखिन्छ। तत्कालीन नेकपा विभाजन हुँदा नै एकता अभियान भनेर छुट्टै बसिरहेका एमाले उपाध्यक्ष वामदेव गौतम शुक्रबार खनाल-नेपाल पक्षीय अखिल नेपाल किसान महासंघको कार्यक्रममा सम्बोधन गर्न पुगे। त्यहाँ पुगेर उनले पार्टीभित्रै रहेर ओलीविरुद्ध संघर्ष गर्नुपर्ने धारणा राखेका छन्। एमाले उपाध्यक्ष गौतमसँग नेपाल लाइभकर्मी वीरेन्द्र ओलीले गरेको संक्षिप्त संवाद:

तपाईंको एकता अब अभियान कुन रुपमा अघि बढ्छ?
अभियानलाई व्यापक बनाएर लैजाने निर्णय गरेका छौं। त्यसका लागि सबैभन्दा पहिले वाम सरकारका लागि पहल गर्छौं। वाम सरकार भनेको एमाले र माओवादी केन्द्र नै हुन्। यी दुवै मिले भने वाम सरकार बन्यो। हाम्रो अभियान त्यत्तिमा सीमित छैन। नेपालमा जति कम्युनिस्ट छन्, ती सबैको मोर्चा बनाउने विषय पनि छ। त्यसकै ‘ब्याकिङ’मा वाम सरकार अघि बढ्नेछ।

अदालतको निर्णयबाट नेकपा दल बन्यो। अब एमाले फुटेर तीन दल हुन लागे जस्तो देखिन्छ। तपाईंले भनेजस्तो कसरी सम्भव होला र?
तीन/चार भए पनि सरकार बनाउँदा मिल्ने भनेरै त वाम सरकार भनेको हो। जतिसुकै कम्युनिस्ट हुन्, वाम सरकार बनाउन सकिन्छ त! नेकपा विभाजित भएर अहिले दुई पार्टी भएको छ। दुई दल बनिसकेपछि केपी ओलीको अदूरदृष्टि निर्णय भए। त्यसैकारण माधव-झलनाथ एउटा र केपीको अर्को समूह देखिएको छ। म दुवै पक्षलाई मिलाउने पक्षमा छु। हाम्रो एकता अभियानले मिलाउने कार्यलाई प्राथमिकता दिएको छ।प्रधानमन्त्री ओली त मिलाउनेभन्दा पनि फुटाउने दिशामा लाग्‍नुभएको भनिन्छ। संसद पुन:स्थापनापछि राजीनामा नदिएपछि आलोचना पनि भएको छ।

पार्टी मिलाउने दिशामा उहाँ नभएकैले निकास नपाएको हो?
त्यही त उहाँले त्यस्तो नगरेको भए एकताको आवश्यकता पर्ने नै थिएन नि! केपी पक्षमा रहेका अधिकांश कार्यकर्ता एकताको पक्षमा छन्। त्यसकारण एकताको अभियान सफल हुन्छ।

प्रकाशित मिति: : 2021-03-19 16:38:00

प्रतिकृया दिनुहोस्