‘साथीहरु विद्यालय जान्छन्, मेरो मन पोल्छ’

बालबालिकाले पढ्न पाउने अधिकारलाई नेपालको संविधानले सुरक्षित गरेको छ तर छोरीहरु पढ्ने, खेल्ने उमेरमा हिलो र माटोमा श्रम बगाउन बाध्य छन्।

पारिवारिक समस्या अभिभावकको कमजोरीका कारण पढ्ने चाहना हुँदाहुँदै पनि कतिपय छोरीहरु श्रमिकका रुपमा उद्योग, इँटाभट्टा तथा घरमा कडा श्रम गरेर जीविका चलाइरहेका छन्। 

टीकापुर नगरपालिका-१ विजयनगरकी अन्जुमा चौधरी घर लिप्दै थिईन्। चौध वर्षीय अन्जुमाको दैनिकी साँझ बिहान घरको काम र दिउँसो इँटाभट्टामा बित्ने गरेको छ।

उनी टीकापुरकै खड्ग स्मृति मावि टीकापुरमा कक्षा ७ मा अध्ययनरत थिईन्। उनलाई पढाइ छोडेर अहिले आमाबुबासँग काम गर्नुपर्ने बाध्यता बनेको छ। उनी गत माघ महिनादेखि विद्यालय छोडेर आमाबुबासँगै स्थानीय एक इँटा उद्योगमा काम गर्न थालेकी छन्।

पढाइलेखाइ गर्ने रहर शक्ति भए पनि उनी गरिबीका कारण पढाइ छोडेर श्रममा लाग्नुभएको बताउछिन्। “साथीहरु विद्यालय जान्छन्, मेरो मन पोल्छ। रहर र पढ्ने जाँगर नभएको होइन”, उनीभन्छिन्, “घरको अवस्था कमजोर छ। बुबाआमाको काममा सघाएमा परिवार पाल्न सजिलो हुन्छ। म पढ्न गए मेरो कापी, किताब खर्च र मेरो पालनपोषण व्यवस्थापनमा समस्या हुन्छ।”

पढ्ने, लेख्ने उमेरमा सबै नानीबाबुलाई शिक्षाको पहुँचमा पुर्याउँन शिक्षालाई संविधानले मौलिक हकको रुपमा राखेको छ। संविधानले आधारभूत तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क तथा मावि तहसम्म निःशुल्क गरेको छ तर घरायसी कारणले शिक्षा सबैको पहुँचमा पुग्न सकेको देखिँदैन। रासस

प्रकाशित मिति: : 2021-03-20 08:45:00

प्रतिकृया दिनुहोस्