प्रभावमा आधारित मौसम पूर्वानुमानको अभ्यास

जलवायु परिवर्तन विज्ञ डा ङमिन्द्र दाहाल र मौसमविद् वरुण पौडेल नेतृत्वको तेस्रो नम्बर समूहले मङ्गलबार र बुधबार प्रभावमा आधारित मौसम पूर्वानुमानका बारेमा विभिन्न अभ्यास गरेको छ।

भारी वर्षा आएको काल्पनिक परिदृश्यलाई अधार बनाएर उक्त समूहले समुदायमा पर्ने प्रभावसम्मको आकलन गरी अभ्यास गरेको थियो। अभ्यासमा भारी वर्षाको सम्भावनासहितको सूचना मौसम विज्ञान विभागबाट आयो। 

बागलुङ ढोरपाटनलाई केन्द्रविन्दु बनाएर भारी वर्षापछि के के अवस्था हुनसक्छ भन्ने कुराको परिदृश्यलाई एउटा म्याट्रिक्स र टेबलमा उतारियो।

विज्ञका अनुसार जति छोटो अवधिको मौसम आकलन हुन्छ मिल्ने सम्भावना बढी हुन्छ भने जति लामो समयको आकलन हुन्छ त्यो औसत मिल्ने तह घट्दै जान्छ। सोहीअनुसार नै अभ्यास गरिएको थियो।

शुरुमा १२ घण्टा, अर्को दिन २४ घण्टा र तेस्रो दिन ४८ घण्टा लगातार पानी पर्ने सम्भावना देखियो । तीन प्रकृतिको वर्षाले त्यो समाजमा कस्तो÷कस्तो असर पर्छ भन्ने कुरा समूहगत छलफलबाट निष्कर्ष निकाल्ने काम भयो। त्यसको अघिल्लो दिन परम्परागत मौसम सूचना प्रणाली र प्रभावमा आधारित मौसम सूचना प्रणालीको फरक अवस्थाबारे समूहगत छलफल र अभ्यास भएको थियो।

आज तेस्रो दिन भने सबै अभ्यासलाई एकीकृत गरी प्रेस विज्ञप्ति जारी गर्दाको अवस्थासम्मको अभ्यास हुनेछ।रासस

प्रकाशित मिति: : 2021-03-25 09:30:00

प्रतिकृया दिनुहोस्