कोरोनाको अर्को पुस्ता झनै खतरापूर्ण, फेरि सतर्कता जरुरी छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले दिनैपिच्छे घटदै आइरहेको संक्रमण दर फेरि बढदा सतर्क हुनुपर्ने अवस्था आएको बताएका छन्।

उनले स्थिति भयावह हुन नदिन सरकार सतर्क रहेको पनि बताए।

‘तीन दिनदेखि लक्षण फेरि नकारात्मकतातिर जान खोज्या हो कि ? स्थिति भयावह हुन नपाओस् भनेर हुनुभन्दा अगाडि नै हामीले ध्यान दिनु पर्दछ,’ प्रधानमन्त्रीले थपे, ‘अहिले स्थिति भयावह नभए पनि यसको अर्को पुस्ता चाहिँ अझ बढी खतरनाक ढंगले अर्कै प्रकृतिमा पैदा भएको छ।’

कोभिड–१९ लाई पूर्ण रुपमा नियन्त्रण गर्नुपर्ने बताउँदै उनले संक्रमणबाट बच्ने र बचाउने कुरा मुख्य भएको धारणा समेत राखे।

कोरोना महामारीको पनि महामारी भएको बताउँदै उनले भने, ‘यो फर्फी–फर्की आउने महामारी हो। जे सुकै भनिए पनि सामाजिक दूरी कायम गर्ने र मास्क लगाउने कार्य गरेर संक्रमणलाई शून्य तुल्याउनु यसको सबैभन्दा प्रभावकारी विधि हो।’

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा प्रधानमन्त्री ओलीले कोभिड–१९ को संक्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताए।

कोभिड–१९ खोपले पनि नयाँ भाइरसको लागि काम गर्छ कि गर्दैन भन्ने यकिन नभएको पनि उनले बताए।

कोभिडको सन्दर्भमा नेपालले जीवन पहिले कि अर्थतन्त्र पहिले भन्ने बहस छेडिएको पनि प्रधानमन्त्री ओलीले बताए।

कतिपय मुलुकले अर्थतन्त्र भनेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालले जीवन पहिला भन्ने मान्यता अँगालेको बताए। उनले भने, ‘मानिस सोत्तर भएपछि अर्थतन्त्र उठ्छ कहीँ ?’

प्रकाशित मिति: : 2021-03-25 14:07:00

प्रतिकृया दिनुहोस्