नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरू र पूर्वपदाधिकारीहरूले महासंघको निर्वाचन प्रक्रिया अगाडि बढाउन माग गरेका छन्।
उनीहरुले एक विज्ञप्ति जारी गर्दै निर्धारित कार्यतालिकाअनुसार निर्वाचन प्रक्रिया अगाडि बढाउन माग गरेका हुन्। चैत २५ गते एकैदिन महासंघका सबै तहका चुनाव हुँदैछ।
महासंघमा पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट केन्द्र, प्रदेश, जिल्ला शाखा तथा प्रतिष्ठानहरूमा निर्वाचन हुन लागेको हो। निर्वाचनका लागि मतदाता नामावली भने प्रकाशन भइसकेको छ।
महासंघ पूर्वअध्यक्षहरू तारानाथ दाहाल, धर्मेन्द्र झा, पूर्वउपाध्यक्ष खिलबहादुर भण्डारी, पूर्वमहासचिवहरू ओम शर्मा, पोषण केसी, रामजी दाहाल, पूर्वकोषाध्यक्ष तेजप्रकाश पण्डित, केन्द्रीय सल्लाहकार शिव लम्साल, प्रेस संगठन नेपालका अध्यक्ष महेश्वर दाहाल र प्रेस चौतारी नेपालका उपाध्यक्ष विश्वमणि सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा समयमै निर्वाचन गराउन माग गरिएको छ।