बीमावापतको रकम भुक्तानी नहुँदा औषधि खरिदमा समस्या

तनहुँको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई बीमावापतको एक करोड भुक्तानी नहुँदा औषधि खरिदमा समस्या भएको छ।

बीमा गरेका सर्वसाधारणले उपचार केन्द्रबाट निःशुल्क औषधि पाए पनि उक्त बापतको रकम अस्पताललाई प्राप्त नहुँदा अस्पतालले औषधि खरिद गर्न नसकेको हो। 

अस्पतालको आम्दानीको स्रोत नभएको र बीमावापतको औषधिको रु एक करोड विगत छ महिनादेखि प्राप्त हुन नसकेको उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए।

“बीमाले अस्पताललाई रकम भुक्तानी नगर्दा औषधि खरिद प्रक्रिया अगाडि बढाउन सकेका छैनौँ”, डा श्रेष्ठले भने, “केही दिनभित्र रकम भुक्तानी नभए उपचार केन्द्रमा औषधि अभाव हुने भएको छ।” उनले अस्पतालमा औषधि अभाव हुन नदिन छिट्टै रकम भुक्तानी गरिदिन आग्रह गरे। 

उपचार केन्द्रले फार्मेसीलाई नै औषधिवापतको रु ८० लाखभन्दा बढी भुक्तानी दिन बाँकी छ। रासस

प्रकाशित मिति: : 2021-03-26 08:30:00

प्रतिकृया दिनुहोस्