राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले निर्माणाधीन सङ्घीय संसद् भवनको आज अवलोकन तथा निरीक्षण गरेकी छन्। उनले सिंहदरबार परिसरमा निर्माण भइरहेको सङ्घीय संसद् भवनको अवलोकन गर्दै भौतिक प्रगतिको बारेमा जानकारी लिएकी हुन्।
उनले संसद् भवन निर्माण गर्दा गुणस्तरमा कुनै पनि सम्झौता नगर्न आग्रह गरे। 'संसद् भवन निर्माणको क्रममा यसको गुणस्तरमा कुनै पनि कमी हुनुहुँदैन' उनले भनिन्, 'काम गर्दा आइपर्ने अप्ठ्याराहरु के कस्ता छन्, हामीलाई भन्नुहोस् तर गुणस्तरमा कुनै सम्झौता नहोस्।'
सरकारी पक्षबाट संसद् भवन निर्माणको काम हेरिरहेको विशेष भवन निर्माण आयोजनाअन्तर्गत संसद् भवन निर्माणका साइट इञ्जिनीयर धर्मेन्द्र पन्थीले अहिलेसम्म २७ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए। भवन निर्माणकै क्रममा कोरोना महामारी फैलिएपछि निर्धारित समयभित्र काम सक्न गाह्रो भएको र सरकारले ६ महिना थप गरेको छ।
उनका अनुसार तीन वर्षमा काम सम्पन्न गर्ने सम्झौता भएकोमा त्यसमा ६ महिना थप गरी ४२ महिना बनाइएको छ। उनले भवन निर्माणका लागि सामग्री आयातमा सबैभन्दा ठूलो समस्या भएको बताए। विदेशबाट ल्याउनुपर्ने सामग्री र स्वदेशकै निर्माण सामग्री पनि ल्याउन समस्या भएकाले आफूहरुलाई अप्ठ्यारो भएको उनले जानकारी दिए।
उपाध्यक्ष दाहाललाई इञ्जिनीयर पन्थीका साथै परामर्शदाता इन्द्रबहादुर श्रेष्ठ र संसद् भवनको निर्माण गरिरहेको टुन्डी शेक जेभीका प्रोजेक्ट म्यानेजर काशी डोटेलले संसद् भवन निर्माणमा भएको प्रगति र समस्याका बारेमा जानकारी दिएका थिए।
सिंहदरबारको १५१ रोपनीमा बन्न थालेको भवनको शिलान्यास २०७६ असोजमा भएको थियो। तीन वर्षमा सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा ६ महिना थप गरेपछि भवन निर्माणको काम २०८९ चैत १५ गतेसम्म गरिसक्ने कार्यतालिका छ। रासस