बागलुङ घटना: मृतक दुबै जनाको शव अस्पतालमा, घटनाबारे अनुसन्धान थालियो (भिडियाेसहित)

होली खेल्ने क्रममा विवाद हुँदा मृत्यु भएका दुई युवाको शव पोस्टमार्टमको लागि बूर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ।

बागलुङको निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको सिमाना बल्देधुरीमा आइतबार हाेली खेल्ने युवा समुहबीच झडप हुँदा निसीखोला–७ का अन्दाजी ३६ वर्षीय प्रकाश कुँवर र २९ दीपक दमाईको मृत्यु भएको थियो।

झडपमा सहभागी युवाले कुटपिट पछि दुवै जनालाई भिरबाट खसालेका थिए।

घटनाको मुचुल्का तयार गरी दुवै जनाको शव पोस्टमार्टम गर्न स्वास्थ्य संस्था पठाएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए। दुई जनाको मृत्यु भए पनि अन्य कुनै हताहती नभएको उनले बताए।

अन्य कोही पनि सम्पर्क विहिन नभएको डिएसपि हवारीको भनाई छ। घटनाबारे अनुसन्धान सुरु भएको छ। दुवै जनाको शव गोरेटो बाटो भन्दा दुई सय मिटर तल फेला परेको थियो।

त्यस्तै, नेपाली कांग्रेस बागलुङले बडिगाड घटनामा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ।

कांग्रेस जिल्ला सभापति दिपेन्द्र थापाले सोमबार विहान प्रेस विज्ञप्ती जारी गर्दै दोषीलाई कारवाही गर्न र घाइतेको उपचार गर्न माग गरेका हुन्।

काँग्रेस जिल्ला सदस्य प्रकाश कुँवर र सक्रिय कार्यकर्ता दीपक दमाईमाथि सुनियोजित रुपमा सांघातिक हमाल गरी योजनाबद्ध रुपमा हत्या गरिएको विज्ञाप्तिमा उल्लेख गरिएको छ।

विज्ञप्तीमा घटना सुनियोजित रुपमा अपराधिक मानसिकताबाट प्रेरित भइ यो घटना भएको र झडपमा घाइते भएका ज्ञानु दमाईलगायतका घाइतेहरुको उपचारमा सरकारले गर्नुपर्ने माग गरिएको छ।

प्रकाशित मिति: : 2021-03-29 12:25:00

प्रतिकृया दिनुहोस्