अपहरणमा परेका रेञ्जर पुर्वेको अनुसन्धानमा धनुषा प्रशासनको मौनता रहस्यमय (भिडियोसहित)

फाइल तस्वीर
फाइल तस्वीर

एघार वर्षदेखि बेपत्ता आफ्नो श्रीमानको खोजीमा पुलिस प्रशासनले सहयोग नगरेको भन्दै निलम पुर्वेले दु:ख व्यक्त गरेकी छिन्।

जनकपुरको क्षिरेश्वरनाथकी स्थायीवासिन्दा ४५ वर्षीय निलम २०६६ सालदेखि आफ्नो श्रीमानको विषयमा अनभिज्ञ छिन्। उनको श्रीमान धनुषा महेन्द्रनगरका रेञ्जर तुरुन्तलाल पुर्वेको जनतान्त्रिक मुक्तिमोर्चाले अपहरण गरेको थियो।

उनी हालसम्म जीवित छन् वा छैनन्, यसको जानकारी धनुषाको जिल्ला प्रशासन कार्यालयले दिन सकेको छैन।

श्रीमानलाई छुटाइदिने बहानामा क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियार (जोगी) ले ११ वर्षअघि निलमसँग ७ लाख रुपैयाँ फिरौती रकम लगेका थिए।

त्यसपछि श्रीमानसँग आफ्नो सम्पर्क बिच्छेद भएको निलम बताउँछिन्। श्रीमान खोजी तथा मेयर योगेन्द्रको शंकास्पद भूमिकालाई लिएर निलमले पटकपटक पुलिस प्रशासनमा निवेदन दिएकी छिन्। तर, आफ्नो निवेदनमाथि कुनै सुनवाई नभएको उनको भनाई छ।

‘उल्टै मलाई धम्की आउँछ। प्रशासनको ठोका पनि मेरो लागि बन्द भएको छ,’ निलमले दुस्खी हुँदै बिएल नेपाली सेवालाई भनिन्।

बिएल नेपाली सेवासँग यसअघि भएको कुराकानीमा मेयर पजियारले स्विकार गरिसकेका छन्, अपहरणमा परेका रेञ्जर तुरुन्तलाल पुर्वेको फिरौतीका लागि उनले निलमसँग ७ लाख रुपैयाँ लिएका थिए।

उनले भनेका छन्, ‘प्रशासनकै आग्रहमा म फिरौती रकम लिएर गएको हुँ।’ निलमले ११ वर्षसम्म आफ्नो श्रीमान नआएपछि ऋणसापट गरेर दिएको ७ लाख रुपैयाँ फिर्ता गर्न मेयर पजियारसँग पटकपटक आग्रह पनि गरेकी छिन्। तर उनले उल्टै पजियारबाट धम्की पाएको गुनासो गरिन्।

‘न मेरो श्रीमानको लास देखाउन सकेका छन्। न उनी यहाँ छन् भनेर जानकारी नै दिन सकेका छन्। मैले पैसा फिर्ता माग्दा उल्टै धम्काउने गरेका छन्।’

पुलिसले पनि आफ्नो उजुरी नहेरेको उनको गुनासो छ। श्रीमान अपहरणमा परेपछि निलमको घरको आर्थिक अवस्था दयनीय बन्दै गइरहेको छ। श्रीमानको चिन्ताले गर्दा उनी औषधि खाएर मात्र सुत्ने गर्छिन्। एउटा छोराको पनि मानसिक अवस्था बिग्रिएपछि उनले भारतको राँची लगेर उपचार गराएकी थिइन्।

मेयर पजियारको शंकास्पद भूमिकालाई लिएर प्रशासनले कडारुपमा खोजीनीति गरेको खण्डमा श्रीमानको अपहरणको गुत्थी सुल्झिने निलमको भनाई छ। तर, प्रशासनको मौनता न्याय मागिरहेकी दुखी श्रीमती तथा आमाका लागि थप रहस्य बनेको छ।



जो दिउँसै लालटीन बोकेर श्रीमान खोज्न निस्किन्छिन् (भिडियो)

जनतान्त्रिकको नाममा कांग्रेसका मेयरले ७ लाख फिरौती उठाएको रहस्योद्घाटन

प्रकाशित मिति: : 2021-03-29 13:44:00

प्रतिकृया दिनुहोस्