अनुमति पाएका हजारौं युवालाई कोरिया जाने वातावरण मिलाउन सांसद संग्रौलाकाे सरकारसंग माग 

फाइल तस्वीर
फाइल तस्वीर

नेपाली कांग्रेसकी सांसद डा डिला संग्रौलाले इपीएस अन्तर्गत वैदेशिक रोजगारका लागि दक्षिण कोरिया जान अनुमति पाएर पनि गएको १३ महिनादेखि पर्खिरहेका झन्डै १० हजार नेपाली युवाहरुलाई चांडो भन्दा चांडो काममा जाने वातावरण बनाउन नेपाल सरकारसंग माग गरेकी छिन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद संग्रौलाले हजारौं युवाहरुको लगानी र समय खेर गइरहेकाले तत्काल कूटनीतिक माध्यमबाट कोरिया सरकारसंग वार्ता गरेर उनीहरुलाई कोरिया जाने वातावरण तयार गर्न सरकारसंग माग गरिन्।

उनले विश्वव्यापी कोरोना महामारीका कारण लाखौं नेपाली श्रमिकहरुले विदेशमा रोजगारी गुमाएको,  दशौँ हजार नेपाली युवा स्वदेश फर्केको  तर उनीहरुको पुनर्स्थापन तथा रोजगारीका लागि सरकारले कुनै पहल न गरेको बताइन्।

नेपाली कांग्रेसले गठन गरेको छायां मन्त्रिपरिषदमा श्रम तथा रोजगार मामिला हेर्ने सांसद संग्रौलाले यस अघि परराष्ट्रमंत्री प्रदीप कुमार ज्ञवाली एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मंत्री गौरीशंकर चौधरीलाइ छुट्टा छुट्टै भेटी अलपत्र परेका नेपाली युवाहरुको समस्याबारे अवगत गराएकी थिइन्।

उनले सम्पूर्ण कागजी प्रक्रिया पूरा गरेर श्रम गन्तव्यमा जान नपाएका युवाहरुको विषयमा मन्त्री द्वयको  ध्यानाकर्षण गराउँदै नेपाली युवाहरुलाई जतिसक्दो चाँडो कोरिया पठाउन माग गरेकी हुन्।

संग्रौलाले कोरिया जानबाट बन्चित रहेका कामदारहरुले बुझाएको ज्ञापनपत्र पनि मन्त्री ज्ञवालीलाई बुझाएकी थिइन्।

ज्ञापनपत्रमा हाल नेपालका ७७ वटै जिल्लाबाट १० हजारभन्दा बढी युवाहरु कोरिया सरकारले तोकेका सबै प्रक्रिया पूरा गर्दा पनि कोरिया जानबाट बञ्चित हुँदा भाषा प्रशिक्षणसहित मेडिकल जाँचलगायतको खर्च डुब्ने र यसबाट उनीहरुको भविष्य नै अन्योलमा परेको उल्लेख छ।

कोरियामा हाल ३० हजारभन्दा बढी नेपाली कामदार ईपीएस अन्तर्गत काम गरिहेका छन्। नेपाल लगायत १६ वटा देशबाट कोरियाले ५० हजार भन्दा बढी कामदार वार्षिक रुपमा लैजाने गरेको छ।

कोरोना महामारीका कारण झन्डै एकवर्ष विदेशी कामदार लैजाने क्रम रोकेको कोरियाले अहिले भने कामदार लैजान थालिसकेको छ।

कोरियाले विदेशी कामदार लैजान थालिसक्दासमेत नेपाली कामदार कोरिया जान नपाएको छनौट भइसकेका युवाहरुको गुनासो छ।

सरकारले दक्षिण कोरिया सरकारसँग छलफल गरी रोकिएको कामदार लैजाने प्रक्रिया तत्काल शुरु गर्न पनि सांसद संग्रौलाले माग गरेकी छिन्।

प्रकाशित मिति: : 2021-03-31 16:22:00

प्रतिकृया दिनुहोस्