कोरोना संक्रमण बढ्दै गएपछि भिडभाड नगर्न सरकारको आग्रह, काठमाडौं भित्रने नाकामा कडाई 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको भन्दै सबैखाले भिडभाडजन्य गतिविधि रोक्न आग्रह गरेको छ।

बुधबार मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले भिडभाड हुने सबै गतिविधी बन्द गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई आग्रह गरेका हुन्। 

ब्रिफिङ क्रममा बोल्दै प्रवक्ता गौतमले भने, ‘कुनै जुलुश, भिडभाड सभा, सम्मेलन, भेलाहरु रोक्न पनि स्वास्थ्य मन्त्रालय बिनम्र आग्रह गर्दछ।’

पछिल्ला केही हप्तायता भारत लगायतका छिमेकी देशमा कोरोना संक्रमण बढ्न थालेसँगै नेपालमा पनि त्यसको प्रभाव देखिन थालेको छ। पछिल्लो २४ घण्टामा १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३ हजार १९ जनाको पीसीआर परीक्षण गर्दा १६२ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

त्यस्तै, मन्त्रालयले उपचारका लागि तयारी अवस्थामा रहन अस्पतालहरुलाई आग्रहसमेत गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस)को बैठकले संघीय अस्पताल, प्रादेशिक अस्पताल र आधारभूत अस्पतालमा कोरोना संक्रमितको उपचार व्यवस्थापन गर्ने निर्णय गरेको छ। त्यसका लागि ती अस्पतालहरुलाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको हो।

उपत्यका भित्रिने नाकामा निगरानी 

कोरोना जोखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यका भित्रिने नाकामा निगरानी बढाईएको जिल्ला प्रशासन कार्यलय काठमाडौंले जनाएको छ।

उपत्यका भित्र नाकामा अहिले ज्वरो आएका तथा रूघाखोकी लागेका व्यक्तिहरूलाई अनिवार्य पिसिआर परीक्षणमा पठाइन थालेको जिल्ला अधिकारी काली पराजुलीले बताएका छन्।

‘कोरोना जोखिम बढ्न थालेपछि केही दिनयता नाकामा ज्वरो आएका व्यक्तिहरुलाई परिक्षणको लागि पठाउन थालेका छौ।’ पराजुलीले भने।

प्रकाशित मिति: : 2021-03-31 19:20:00

प्रतिकृया दिनुहोस्