न श्रीमती, न सम्पत्ति

काभ्रेपलाञ्चोकको पनौती–८ का एक युवा आफ्नो अंशको जग्गा बेचेको ३१ लाख रुपैयाँ श्रीमतीको खातामा राखेर मलेसिया उडे। रगतपसिनाले साटेर तीन वर्ष अवधिमा १२ लाख रुपैयाँ पठाए। तर, घर फर्किंदा न त्यो पैसा पाए न त अंश बेचेर ल्याएको सम्पत्ति बाँकी रह्यो। श्रीमती पनि आफ्नो रहिनन्। बरु उनी सम्बन्धविच्छेदको मुद्दा खेपिरहेका छन्।

हालै विदेशबाट फर्किएका ती युवा काठमाडौं जिल्ला अदालत परिसरमा भेटिए। अदालतले घरि सम्पत्ति बुझाउने आदेश गर्छ घरि जग्गा बेचबिखन गरेको प्रमाण ल्याउन भन्छ। काठमाडौं–पनौती आउजाउ गर्ने गाडी भाडासम्म छैन। बेखर्ची अवस्थामा भेटिएका उनी अदालतमा तल–माथि गरिरहेका थिए।

उनले १३ वर्षअघि तेह्रथुम खाम्लालुङकी युवतीसँग बिहे गरेका थिए। श्रीमतीले तीन वर्षअघि एक्कासि विदेश जान आग्रह गरिन्। आफूले ब्युटिपार्लर सिक्न र व्यवसाय गर्ने भनेर श्रीमान्लाई पुख्र्यौली सम्पत्ति बेच्न लगाइन्। श्रीमतीलाई चाबहिलमा ब्युटिपार्लर खोलिदिएर आफूले मलेसियाको भिसा लगाए। श्रीमतीले कहिले जग्गा खोज्दै गरेको त कहिले बैना गरिसकेको भन्दै पैसा माग्थिन्। उनी कहिले ऋण गरेर पैसा पठाउँथे त कहिले दुई–तीन महिनाको अग्रिम तलब बुझेर।

उनले नेपाल फर्किनु अघिल्लो दिनसम्मको तलब श्रीमतीकै खातामा पठाए। तर, फर्किन लागेको भन्दा श्रीमती खुसी भइनन्। बेवास्ता गरेर फोन काटिन्। एयरपोर्टमा लिन पनि गइनन्। काठमाडौंमा ओर्लिएर कोठा खोज्दै जाँदा सरिसकेकी रहेछन्। बरु पार्लरमा दुई जना पुरुषको साथमा भेटिइन्। केही दिनमा पैसाको हिसाबकिताब र भावी योजना सुनाउँदै गर्दा श्रीमतीले मान्छे लगाएर कुटाइन्। कोठाबाट लत्याएर निकालिन्।

०००

मोरङको उर्लाबारी–४ आइतबारेका ४६ वर्षीय रामबहादुर परियार श्रीमती खोज्दै आफन्त, प्रहरी र छरछिमेक गुहारिरहेका छन्। परियारले १२ वर्ष विदेशमा दुःख गरेर कमाएको सम्पत्ति श्रीमतीसँगै गायब छ। ४२ वर्षीया सोना परियारले श्रीमान् आइपुग्नु अघिल्लो दिन नै घर छाडिन्। उनीहरूका २२ र १४ वर्षका छोरा र १९ वर्षीय छोरी छन्। बिहे गर्ने उमेर पुगेका छोराछोरी र श्रीमान् छाडेर सोना गाउँकै एक युवकसँग भागेको रामबहादुरले बताए।

दुःखमा साथ दिएकी श्रीमतीले सुखका साथ जोबन काट्ने बेला घर छाडेकोमा रामबहादुर भावविह्वल बनेका छन्। ‘मेरा हरेक दुःखमा साथ दियौ। अब केही सम्पत्ति पनि जोडियो, छोराछोरीको कमाइ खाने बेला भयो। जस्तो अवस्थामा भए पनि फिर्ता आऊ’, उनले भने।

प्रकाशित मिति: : 2021-04-03 06:03:00

प्रतिकृया दिनुहोस्