केही समयअगाडि अभिनेता विपिन कार्कीको गाडीले काठमाडौंको टेकुमा एक जना व्यक्तिलाई ठक्कर दियो। खुट्टामा ठक्कर लाग्दा ती व्यक्ति नराम्ररी ढले।
तिनै व्यक्तिसँग आएका ४-५ केटाहरूले विपिनको गाडीको चाबी खोसे। उनलाई गाडीबाट बाहिर निकाले। विपिनले झण्डै पिटाइ खाएका थिए।
जब विपिन बाहिर आए, ती केटाहरूले उनलाई चिन्न थाले। बिस्तारै उनीहरूले विपिनसँगै माफी माग्न लागे।
उता ढलिरहेका व्यक्ति पनि ‘विपिन कार्की’ सुन्नासाथ खुट्टा खुम्च्याउँदै उठे। विपिनलाई अंगालो मारे। धन्यवाद दिए, ‘विपिन दाइ, आज तपाईंको गाडीले हानेकाले तपाईंसँग भेट भयो। धन्यवाद दाइ, मलाई हान्दिनुभयो।’
विपिनले घाइतेलाई बारम्बार हस्पिटल जान आग्रह गरिरहे। तर, ती घाइते जान मानेनन्। बरु उल्टै भन्थे, ‘मेरो खुट्टा भाँचिए भाँचियोस् दाइ। तपाईंसँग भेट भयो। यस्तो जाबो चोट केही होइन। मेरो दाइ…!’
विपिन छक्क परे। उनले घाइते व्यक्तिको नम्बर लिए। आफ्नो ख्याल गर्नुस् है भन्दै विपिन गाडीमा हुइँकिए। विपिन अहिलेसम्म पनि ती व्यक्तिसँग सम्पर्कमा छन्। कुरा भइरहन्छ।