लहानका व्यवसायीको हत्याप्रति सुनचाँदी महासंघको विरोध, व्यावसायिक सुरक्षा दिलाउन सरकारसँग आग्रह

बिएल संवाददाता

काठमाडाै‌ं
File photo
File photo

नेपाल सुनचाँदी व्यवसायी महासंघले शनिबार सिरहाको लहानमा सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्माको गोली हानी हत्या भएकोमा गंभीर सरकारको ध्यानाकर्षण गराउँदै व्यवसायिक सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेको छ।

सिरहाको लहानस्थित अमिता ज्वेलर्सका सञ्चालक ४० वर्षीय विश्वकर्माको पसल लुट्न आएका लुटेरा समूहले गोली हानी हत्या गरेको हो। 

नेपाल सुनचाँदी महासंघका प्रवक्ता मनोजकुमार शाहद्वारा शनिवार जारी विज्ञप्तिमा भनिएको छ, ‘यो घटनाले मुलुकभरिका सुनचाँदी व्यवसायीलाई त्रसित र भयभित मात्र बनाएको छैन, यसले सिङ्गो मुलुकको सुरक्षा व्यवस्था र व्यवसायिक सुरक्षाको विषयमा समेत गंभीर प्रश्नचिन्ह खडा भएको छ।’

सिरहाको लहान नगरपालिका–२३ गढिया चोकमा सुनचाँदी पसल गर्दैआएका विश्वकर्माकोे हत्या पछि सो समूहले अमिता ज्वेलर्समा रहेका सुनचाँदी र नगद पनि लुटपाट गरेका छन् । त्यस क्रममा उनकी श्रीमति अमिता विश्वकर्मा पनि घाइते भएकी छन्। 

लुटेरा समूहले उनकी श्रीमतीमाथि कुटपिट गरी घाइते बनाएका हुन्। व्यवसायी विश्वकर्मा श्रीमतीसँग त्यही बसेका बेला लुटेरा समूहले गोली चलाएको पाइएको छ। 

‘व्यवसाय सञ्चालनमा क्रममा यसरी लुटपाट तथा हत्या गरिनु अत्यन्तै निन्दनीय मात्र छैन, यसमा सिङगो मुलुकमा विद्यमान शान्ति सुरक्षाको कमजोर अवस्थाको चित्रण भएको छ’, विज्ञप्तिमा उल्लेख छ, ‘यसले आम व्यवसायी लाई हतोत्साही मात्रै नवनाई चिन्तित र दुखित समेत तुल्याएको छ ।’  

‘यस किसिमका घटना विगतमा पनि वारम्वार हुँदै आएका छन्। यस किसिमका आततायी कृयाकलापको नियन्त्रण गरी आम व्यवसायी लाई निर्वाधरुपमा शान्ति सुरक्षा उपलब्ध गराउनु राज्यको दायित्व हो’, विज्ञप्तिमा भनिएको छ, ‘यसतर्फ हामी सरकार एवं सुरक्षा निकायको ध्यानाकर्षण गराउँदै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आग्रह गर्दै दोषिलाई तत्काल नियन्त्रणमा लिई आवश्यक कारवाही गर्न र मृतकको परिवारलाई उचित क्षतिपूर्तिको ब्यवस्थागरी शान्ति सुरक्षाको प्रत्याभूतिगर्न हामी समस्त सुनचाँदी व्यवसायी जोडदार माग गर्दछौं।’

प्रकाशित मिति: : 2021-04-11 13:59:00

प्रतिकृया दिनुहोस्