उपचाररत एक महिलामा कोरोना सङ्क्रमण देखिएपछि सिरहा जिल्ला अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ।
अस्पतालमा उपचारका लागि गत आइतबार भर्ना भएकी एक महिलामा जाँचपछि कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरिएकोे हो।
सङ्क्रमणपछि उक्त महिलाको सम्पर्कमा आएका अस्पतालका स्वास्थ्यकर्मी तथा चिकित्सकसमेत रहेकाले तत्काललाई अस्पताल शिल गरी आकस्मिक सेवा मात्र सञ्चालन गरिएको अस्पतालका मेसु डा नागेन्द्रप्रसाद यादवले जानकारी दिए।
अस्पतालको आकस्मिक कक्षबाहेक सबै कक्षमा ताल्चा लगाइएको छ। अस्पतालमा रोग निवारक औषधि छर्केपछि पुनः सञ्चालनमा ल्याइने मेसु डा यादवले बताए।
सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले सीमावर्ती भारतीय बजारबाट नेपालतर्फ आवतजावत हुने सम्पूर्ण नाकामा कडाइ गर्न सशस्त्र प्रहरी बल नेपालका साथै नेपाल प्रहरीलाई समेत निर्देशन दिइसकेको बताए।
हाल सिरहामा एक महिलासहित सात जना सक्रिय कोरोना सङ्क्रमित रहेको बताइएको छ।
गायक तथा सामाजिक अभियानकर्मी सदाको निधन
गायक तथा सामाजिक अभियानकर्मी गुरुशरण सदाको निधन भएको छ। सिरहाको गोलबजार नगरपालिका–६ का ३३ वर्षीय सदाको सोमबार साँझ निधन भएको हो।
लामो समयदेखि सामाजिक तथा सङ्गीत क्षेत्रमा क्रियाशील सदाको मृत्यु भएको छ। पछिल्लो तीन/चार दिनदेखि बान्ता हुने, उच्च ज्वरो आउने र पेट दुख्ने समस्याले पीडित सदाको मृत्यु भएको मृतकका जेठान अरुण सदाले जानकारी दिए।
अचानक बेहोस भएका उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि गोलबजारस्थित भूमिजा हस्पिटलमा ल्याएका थिए।
त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धरान लाने क्रममा लहान पुग्दानपुग्दै उनको बाटोमै मृत्यु भएको परिवारजनले जनाएका छन्।
उनी सेभ द चिल्ड्रन नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको काठमाडौँ कार्यालयमा बसेर काम गर्दै आएका थिए।
केही दिनअघि मात्र आमाको वार्षिक श्राद्धका लागि घर आएका सदा जातीय सुधारका लागि सवरी सङ्कल्प नामक संस्थाको माध्यमबाट सामाजिक काममा सक्रिय थिए।
उनसँगै उनकी श्रीमती शान्ति सदा पनि सङ्गीत क्षेत्रमा सक्रिय रहेका थिए। सदा दम्पतीका दर्जन बढी मैथली तथा नेपाली गीतको लेखन, गायन र आफैँले अभिनय गरेको म्युजिक भिडियोसमेत सार्वजनिक भइसकेको छ। रासस