एमालेमा नेपाल पक्ष कमजोर हुँदै, 'समानान्तर' गतिविधि नछाड्नेलाई ओलीले हटाउने

प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल नेतृत्वको ‘समानान्तर गतिविधि’ मा लाग्ने एमालेका समानुपातिक सांसद् फेर्ने र प्रत्यक्ष निर्वाचितलाई हटाउने तयारी अघि बढाएपछि नेपाल पक्ष कमजोर देखिएको छ।

प्रत्यक्ष र समानुपातिक तर्फका गरी ३५ लिएर ओलीविरुद्ध क्रियाशील नेपाल पक्षमा लागेका सांसदमध्ये आठ जनाले अध्यक्ष ओलीसमक्ष समानान्तर गतिविधिमा नलाग्ने प्रतिबद्धता जनाएका छन्।

उनीहरुले एमालेमै बसेर पार्टीमा क्रियाशील हुने प्रतिबद्धता जनाएपछि स्पष्टीकरण नै नसोधिएको प्रधानमन्त्री ओलीनिकट एक नेताले जानकारी दिए।

ती नेताका अनुसार, गोकर्ण बिष्ट, राजबहादुर बुढा, गंगा चौधरी सत्गौवा, पार्वतीकुमारी विसङ्खे, कलिला खातुन, समिना हुसेन र वीना बुढाथोकीले माधव नेपाल समूह त्यागेकाले स्पष्टीकरण नसोधिएको ती नेताले जानकारी दिए।

योगेश भट्टराईसँग भने पटक–पटक कुराकानी भएको तर उनी एमालेमा रहने बताए पनि नेपाल समूहको समानान्तर गतिविधिमा पनि संलग्न हुन नछाडेकाले स्पष्टीकरण सोधिएको उनले बताए।

एमालेले बुधबार स्पष्टीकरण सोधेका २७ मध्ये २० जना प्रत्यक्ष निर्वाचित र सात जना समानुपातिक तर्फका प्रतिनिधिसभा सदस्य छन्। ती सदस्यहरुसँग प्रधानमन्त्री ओली स्वयम्ले संवाद गरिरहेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवम् एमाले प्रचारविभाग उपप्रमुख सूर्य थापा सबैसँग आफैंले संवाद गरी पार्टीमा एकताबद्ध भएर अघि बढ्न आग्रह गरिरहेको जानकारी दिए।

‘बाहिरका भाषण हेर्दा प्रधानमन्त्रीज्यू समानान्तर गतिविधि गरिरहेकाहरुप्रति जति कडा देखिनुहुन्छ, भित्र त्योभन्दा फरक छ। उहाँ आफैँले प्रत्येक सांसद्सँग कुराकानी गरेर एमालेमै बसेर काम गर्न अनुरोध गरिरहनुभएको छ’, थापाले बिएल नेपाली सेवासँग भने, ‘कुनै निर्णयमा पुग्नुअघि प्रधानमन्त्रीले प्रत्येक नेता र सांसद्सँग आफैँले कुरा गर्नुहुनेछ। उहाँ पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन अधिकतम प्रयत्नशील हुनुहुन्छ।’

एमालेको बैशाख ६ गते बसेको केन्द्रीय कमिटी बैठकले एमालेको नाममा ‘समानान्तर गतिविधि’ गरिरहेका नेताहरुलाई स्पष्टीकरण सोध्ने र नसुध्रिए संसद्बाट समेत हटाउने प्रक्रिया सुरु गरेको थियो।

सोही बमोजिम एमालेले मंगलबार (बैशाख ७ गते) मात्र प्रतिनिधिसभाका २७ र कर्णाली प्रदेशसभाका पाँच जना गरी ३२ जना सांसद्लाई ‘कारवाही किन नगर्ने ?’ भन्ने व्यहोराको स्पष्टीकरण सोधेको थियो।

अन्तिम चेतावनीसहितको स्पष्टीकरण भएकाले २७ मध्ये पनि बहुसंख्यक सांसद्हरु माधव नेपाल पक्ष छाडेर एमालेमा फर्कन तयार हुने अपेक्षा प्रधानमन्त्री ओली निकट नेताहरुको रहेको छ।

एमाले स्रोतका अनुसार, कर्णाली प्रदेशका ह्वीप उल्लङ्घन गर्ने र उल्लङ्घन गर्न उकास्ने प्रकाश ‘ज्वाला’ सहित नन्दसिंह बुढा, कुर्मराज शाही, अम्बरबहादुर थापालाई बैशाख १० गतेको केन्द्रीय कमिटी बैठकले एमालेबाट निस्कासन गर्ने निर्णय गर्नेछ।

प्रदेशसभामा पछि मत सच्याएकी देवी ओलीलाई भने प्रदेशसभा सदस्यबाट हटाउने छैन। ह्वीप उल्लङ्घन गर्नेहरुलाई ‘भविष्यमा पनि पार्टीका लागि अयोग्य’ हुने गरी निष्कासन गर्ने कि भन्नेसम्मको कुराकानी भइरहेको स्रोतको दाबी छ।

पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित नेताहरु भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले पार्टीमै रहेर काम गर्ने भनी स्पष्टीकरण नदिएमा उनीहरुलाई पनि प्रतिनिधिसभा सदस्यबाट हटाउने निर्णय गर्ने प्रवल संभावना रहेको प्रधानमन्त्रीनिकट उच्च स्रोतले जानकारी दियो। ‘मिड करिअर’ का धेरै सांसद्ले गल्ती स्वीकारेर ‘समानान्तर गतिविधि’ त्याग्ने संभावना रहेको पनि स्रोतले जानकारी दियो।

एमाले पार्टी र सरकारविरुद्ध ‘समानान्तर गतिविधि नगर्ने’ प्रतिबद्धता नजनाएमा समानुपातिकतर्फका सांसद् भने तत्काल फेरिने छन्। स्पष्टीकरण सोधिएका समानुपातिकतर्फका संघीय सांसद्हरुमा मुकुन्द न्यौपाने, कल्याणी खड्का, रामकुमारी झाँक्री, पुष्पाकुमारी कर्ण कायस्थ, सरलाकुमारी यादव, नीरादेवी जैरु र लक्ष्मीकुमारी चौधरी रहेका छन्।

स्पष्टीकरण सोधिएका प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्यहरुमा झलनाथ खनाल, माधवकुमार नेपाल, भीमबहादुर रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, पवित्रा निरौला, भवानीप्रसाद खापुङ, कृष्णलाल महर्जन, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट, गणेश पहाडी, झपटबहादुर रावल, जयकुमार राई,हिराचन्द्र केसी र नारायण खतिवडा रहेका छन्।

नेपाल पक्षमा लागेका सांसद्हरूलाई प्रधानमन्त्री ओलीले भोलिका दिन विभेद नगरिने, संसदीय चुनावमा टिकट दिने र चुनाव जिताएर ल्याउन आफ्नो पक्षले कुनै कसर बाँकी नराख्ने आश्वासनसहित एमालेमै फर्किन व्यक्तिगत रुपमै अनुरोध गर्ने छन्। त्यसबाट धेरै सांसद्ले क्याम्प फेर्ने ओलीनिकट नेताहरुको विश्वास छ।

स्पष्टीकरण सोधिएपछि माधव नेपाल पक्ष निकै ‘रक्षात्मक’ देखिएको छ। सो समूहका नेताहरुको मंगलबार र बुधबार भएको भेलाले आफूहरु एमालेमै रहेको भनेर स्पष्टीकरण दिने तयारी छ। सो पक्षले एमालेमै रहेर संघर्ष गर्ने निर्णय यसअघि नै गरिसकेको छ।



याे पनि...

एमालेले सोध्यो माधव नेपाल पक्षका ३२ नेतालाई स्पष्टीकरण

प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त स्थानमा असारअघि नै उपचुनाव गराउने सरकारको तयारी

लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध माओवादी अविश्वास प्रस्ताव सुरुमै असफल, अविश्वासमा हस्ताक्षर गर्नेहरु नै बने मन्त्री 

प्रकाशित मिति: : 2021-04-21 15:18:00

प्रतिकृया दिनुहोस्