राजनीतिज्ञहरूबाट शब्दको धज्जी

प्रदीप नेपाल

काठमाडाैं

नेपाली राजनीतिज्ञहरू अर्थहीन शब्दहरूको प्रयोग गरेर जनतालाई अन्योलमा राखिरहेका छन् । केही शब्दको परिभाषा दिन पाए नेपाली जनता आफैँले केही जान्ने थिए कि भनेर मैले यो टिप्पणी सुरु गरेको हुँ ।

माक्र्सवाद
हाम्रो देशमा माक्र्सवादको सही पहिचान गर्ने आधा दर्जन मानिस पनि छैनन् होला । नत्र यतिका वर्षसम्म माक्र्सवादी भन्नेहरूले ‘बन्दुक नै सत्ताको जननी हो’ किन भन्थे होलान् । यथार्थमा माक्र्सवाद बन्दुक बोकेर आउँदैन । त्यो त जनताको उच्च चेतना, शिक्षा र सभ्यताको यात्रा हो । नेपालका माक्र्सवादीहरू, स्टालिनको सर्वहारावर्गको अधिनायकत्वभन्दा अगाडि जानै सकेका छैनन् । कार्लमाक्र्स कहिल्यै अधिनायकवादी थिएनन् । स्वतन्त्र नागरिकले मात्रै समानताको सुनिश्चित गर्न सक्छ भन्ने उनको मान्यता थियो । त्यसले उनको लडाइँ बुर्जुवा अधिनायकत्वको विरुद्ध र जनताको पक्षमा चलिरह्यो । स्वतन्त्रता र समानताका बारेमा कार्लमाक्र्सको भनाइ मैले कम्तीमा पनि दश ठाउँमा उद्धृत गरिसकेको छु । यहाँ पनि उद्धृत गर्न चाहन्छु, ‘‘हामी त्यस्ता कम्युनिस्टभन्दा भिन्न छौँ, जो वैयक्तिक स्वतन्त्रता हरण गर्न चाहन्छन्, जो विश्वलाई एउटा विशाल गोदाम या अनुशासनको ब्यारेकमा परिणत गर्न चाहन्छन् । यहाँ त्यस्ता पनि कम्युनिस्टहरू छन्, जो वैयक्तिक स्वतन्त्रतामाथि बन्देज लगाउन चाहन्छन् । उनीहरूको विचारमा वैयक्तिक स्वतन्त्रता सामाजिक समानताको विरोधी हुन्छ । तर हामी कुन कुरामा प्रष्ट छौँ भने वैयक्तिक स्वतन्त्रताको अभावमा सामुदायिक सदभाव बढाउन सकिँदैन । एउटा यस्तो प्रजातान्त्रिक राज्य स्थापना हुनुपर्छ, जहाँ सबै राजनीतिक दलहरू नीति र विचारका आधारमा आपूmलाई श्रेष्ठ साबित गर्न सकुन् र आफ्नो पक्षमा बहुमत पु¥याउन सकुन् ।’

समाजवाद
समाजवाद अर्को सस्तो शब्द भएको छ नेपालमा । प्रेमबहादुर सिंहको समाजवादी पार्टी अहिले अस्तित्वहीन भइसकेको छ । अहिले उपेन्द्र यादवको सङ्घीय समाजवादी पार्टीको धेरै चर्चा छ नेपालमा । बाबुराम भट्टराई त्यसको वैचारिक नेता हुनुभएको छ क्या र ! पुष्पकमल दाहाल पनि समाजवादकै पक्षमा हुनुहुन्छ । ‘एक्कासौँ शताब्दीको समाजवाद’ यही होला उहाँको सिद्धान्त । तर के नेपालमा अहिल्यै समाजवाद सम्भव छ ? छैन । मित्रराष्ट्रहरूले ५० प्रतिशत बजेट धानिदिएको (ऋण वा सहयोगको नाउँमा) मुलुकमा समाजवाद आउँदैन । नेताहरूको सामन्ती चिन्तन भएको मुलुकमा समाजवाद आउँदै आउँदैन । जनताको उच्च चेतना र सम्पन्नता, सुखी नेपाली समृद्ध नेपालजस्ता वाक्यहरू समेत नभएको मुलुकमा बलियो पुँजीवाद त आउँदैन भने कहाँबाट आउँछ समाजवाद ! समृद्ध नेता र गरिब नेपाली रहेसम्म नेपालमा कहिल्यै समाजवाद आउँदैन । यतिबेला समाजवाद हाम्रो सपना मात्र हो ।

प्रकाशित मिति: : 2021-04-22 06:52:00

प्रतिकृया दिनुहोस्