नेपाल पक्षलाई एमालेमै राख्ने ओलीको अन्तिम प्रयास, लचकतालाई कमजोरी ठानेमा निस्कासन गरेर अघि बढ्ने तयारी

File Photo
File Photo

प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यधिक लचिलो भएर पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र उनी पक्षधर सांसद्हरुसँग आफ्नै पहलमा संवाद अघि बढाएका छन्। केन्द्रीय कमिटीको बैठक बस्नुअघि ओलीले लिएको उक्त पहल नेपाल पक्ष सहमतिमा नआए शुक्रबार डाकिएको केन्द्रीय कमिटीबाट 'कडा निर्णय' गर्ने पूर्वतयारी पनि हुनसक्ने प्रधानमन्त्रीनिकट एमाले स्रोतहरुले जनाएका छन्।

'प्रतिनिधिसभा विघटन गर्नुभन्दा अघिल्लो दिन प्रधानमन्त्री ओली आफैँ प्रचण्डनिवास, खुमलटार जानुभएको थियो, त्यसलाई कमजोरीका रुपमा प्रचण्डले बुझ्दाको परिणति के भयो ?', ओली पक्षका ती नेताले भने, 'त्यस दिन प्रचण्डले आरोपपत्र फिर्ता लिएको भए उनको हविगत अहिलेजस्तो हुने थिएन। नेकपाको एकता पनि जोगिन सक्थ्यो।'

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवम् एमाले प्रचारविभाग उपप्रमुख सूर्य थापाले पनि  पार्टीमा एकताबद्ध भएर अघि बढ्न सबै सांसद्लाई प्रधानमन्त्री आफैँले भेटेर आग्रह गरिरहेको जानकारी दिए।

‘बाहिरका भाषण हेर्दा प्रधानमन्त्रीज्यू समानान्तर गतिविधि गरिरहेकाहरुप्रति जति कडा देखिनुहुन्छ, भित्र त्योभन्दा फरक छ। उहाँ आफैँले प्रत्येक सांसद्सँग कुराकानी गरेर एमालेमै बसेर काम गर्न अनुरोध गरिरहनुभएको छ’, थापाले बिएल नेपाली सेवासँग भने, ‘कुनै निर्णयमा पुग्नुअघि प्रधानमन्त्रीले प्रत्येक नेता र सांसद्सँग आफैँले कुरा गर्नुहुनेछ। उहाँ पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन अधिकतम प्रयत्नशील हुनुहुन्छ।’

यसै प्रयासस्वरुप ओलीले बुधवार पूर्वप्रधानमन्त्री नेपाललाई आफैँले पहल गरेर छलफलका लागि बोलाएका थिए। नेपालले बालुवाटार नआउने अडान राखेपछि ओलीले नै नक्सालस्थित होटल मेरियन्टको प्रबन्ध गरेका थिए। नेपालले आफ्नो समूहसँग सामूहिक छलफल गर्ने बताउँदा ओलीले गुटको अस्तित्व आफूले नस्वीकार्ने बताए। त्यसपछि नेपाल एक्लै छलफलका लागि जान तयार भएका थिए।

बालुवाटार स्रोतका अनुसार, छलफलमा ओलीले गुटको अस्तित्व स्वीकार नगर्ने प्रष्ट अडान राखेका थिए। फागुन २८ को निर्णय पनि उल्टाउन नसक्ने बताएका थिए। 'जति बेला मलाई पार्टी सदस्य समेत नरहने गरी नेकपाबाट हटाएको एक पटक होइन, चार–चार पटक निस्कासनको घोषणा भयो, त्यो बेला पनि मलाई साथ दिनेहरुलाई म जिल्ला, प्रदेश, केन्द्र कहीँबाट पनि अहिले हटाउन सक्दिनँ। यसबारे प्रष्ट हुँदा हुन्छ। तपाईंहरुलाई थाहा भएको होस् वा नहोस्, फागुन २८ को निर्णय उल्टिदैन। भोलि गरिने व्यवहारमा भने विभेद हुँदैन। यसको ग्यारेन्टी गर्छु।'

करिब दुई घण्टा महासचिव नेपालसहित भएको छलफलमा दुवै नेताले आ–आफ्ना कुरा राखेका थिए। त्यसपछि नेपाल साथीहरुसँग छलफल गरी बिहीबार पुन: बस्ने भन्दै उठेका थिए। बिहीबार मध्यान्हसम्म ओली–नेपाल छलफलको समय र स्थान टुंगो लागेको छैन। बालुवाटार स्रोतले बुधबारजस्तै बिहीवार पनि आकस्मिक रुपमा स्थान तोकी छलफल हुनसक्ने संभावना रहेको बतायो। 

प्रधानमन्त्री ओलीलै पार्टीको सरकारविरुद्ध क्रियाशील हुनसक्ने र नेपाल पक्षले कर्णाली प्रदेशमा जस्तै संघीय संसद्मा पनि 'फ्लोर क्रस' गर्ने संभावना देखेपछि संघीय संसद्को बजेट अधिवेशनअघि नै माधवकुमार नेपाल नेतृत्वको ‘समानान्तर गतिविधि’ मा लाग्ने एमालेका सांसद्लाई त्यो अवस्थामा पुग्नबाट रोक्ने तयारी थालेका छन्। पार्टीको अनुशासनमा चल्न तयार नभए समानुपातिक सांसद् फेर्ने र प्रत्यक्ष निर्वाचितलाई हटाउनेसम्मको तयारीमा ओली लागिपरेका हुन्। ओलीकी यो 'मुभ' नेपाल पक्ष रक्षात्मक र कमजोर देखिएको छ।

प्रत्यक्ष र समानुपातिक तर्फका गरी ३५ लिएर ओलीविरुद्ध क्रियाशील नेपाल पक्षमा लागेका सांसदमध्ये एमालेका पूर्वसचिव गोकर्ण बिष्टसहित आठ जनाले अध्यक्ष ओलीसमक्ष समानान्तर गतिविधिमा नलाग्ने प्रतिबद्धता जनाएका छन्। उनीहरुले एमालेमै बसेर पार्टीमा क्रियाशील हुने प्रतिबद्धता जनाएपछि बिष्ट, राजबहादुर बुढा, गंगा चौधरी सत्गौवा, पार्वतीकुमारी विसङ्खे, कलिला खातुन, समिना हुसेन र वीना बुढाथोकीले माधव नेपाल समूह त्यागेकाले स्पष्टीकरण नसोधिएको ती नेताले जानकारी दिए।

योगेश भट्टराईसँग भने पटक–पटक कुराकानी भएको तर उनी एमालेमा रहने बताए पनि नेपाल समूहको समानान्तर गतिविधिमा पनि संलग्न हुन नछाडेकाले स्पष्टीकरण सोधिएको उनले बताए। योगेश पनि दोधारमा रहेको स्रोतले जनाएको छ।

एमालेले बुधबार स्पष्टीकरण सोधेका २७ मध्ये २० जना प्रत्यक्ष निर्वाचित र सात जना समानुपातिक तर्फका प्रतिनिधिसभा सदस्य छन्। ती सदस्यहरुसँग प्रधानमन्त्री ओली स्वयम्ले संवाद गरिरहेका छन्।

एमालेको बैशाख ६ गते बसेको केन्द्रीय कमिटी बैठकले एमालेको नाममा ‘समानान्तर गतिविधि’ गरिरहेका नेताहरुलाई स्पष्टीकरण सोध्ने र नसुध्रिए संसद्बाट समेत हटाउने प्रक्रिया सुरु गरेको थियो।

सोही बमोजिम एमालेले मंगलबार (बैशाख ७ गते) मात्र प्रतिनिधिसभाका २७ र कर्णाली प्रदेशसभाका पाँच जना गरी ३२ जना सांसद्लाई ‘कारवाही किन नगर्ने ?’ भन्ने व्यहोराको स्पष्टीकरण सोधेको थियो।

अन्तिम चेतावनीसहितको स्पष्टीकरण भएकाले २७ मध्ये पनि बहुसंख्यक सांसद्हरु माधव नेपाल पक्ष छाडेर एमालेमा फर्कन तयार हुने अपेक्षा प्रधानमन्त्री ओली निकट नेताहरुको रहेको छ।

एमाले स्रोतका अनुसार, कर्णाली प्रदेशका ह्वीप उल्लङ्घन गर्ने र उल्लङ्घन गर्न उकास्ने प्रकाश ‘ज्वाला’ सहित नन्दसिंह बुढा, कुर्मराज शाही, अम्बरबहादुर थापालाई बैशाख १० गतेको केन्द्रीय कमिटी बैठकले एमालेबाट निस्कासन गर्ने निर्णय गर्नेछ।

प्रदेशसभामा पछि मत सच्याएकी देवी ओलीलाई भने प्रदेशसभा सदस्यबाट हटाउने छैन। ह्वीप उल्लङ्घन गर्नेहरुलाई ‘भविष्यमा पनि पार्टीका लागि अयोग्य’ हुने गरी निष्कासन गर्ने कि भन्नेसम्मको कुराकानी भइरहेको स्रोतको दाबी छ।

पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित नेताहरु भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले पार्टीमै रहेर काम गर्ने भनी स्पष्टीकरण नदिएमा उनीहरुलाई पनि प्रतिनिधिसभा सदस्यबाट हटाउने निर्णय गर्ने प्रवल संभावना रहेको प्रधानमन्त्रीनिकट उच्च स्रोतले जानकारी दियो। ‘मिड करिअर’ का धेरै सांसद्ले गल्ती स्वीकारेर ‘समानान्तर गतिविधि’ त्याग्ने संभावना रहेको पनि स्रोतले जानकारी दियो।

एमाले पार्टी र सरकारविरुद्ध ‘समानान्तर गतिविधि नगर्ने’ प्रतिबद्धता नजनाएमा समानुपातिकतर्फका सांसद् भने तत्काल फेरिने छन्। स्पष्टीकरण सोधिएका समानुपातिकतर्फका संघीय सांसद्हरुमा मुकुन्द न्यौपाने, कल्याणी खड्का, रामकुमारी झाँक्री, पुष्पाकुमारी कर्ण कायस्थ, सरलाकुमारी यादव, नीरादेवी जैरु र लक्ष्मीकुमारी चौधरी रहेका छन्।

स्पष्टीकरण सोधिएका प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्यहरुमा झलनाथ खनाल, माधवकुमार नेपाल, भीमबहादुर रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, पवित्रा निरौला, भवानीप्रसाद खापुङ, कृष्णलाल महर्जन, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट, गणेश पहाडी, झपटबहादुर रावल, जयकुमार राई,हिराचन्द्र केसी र नारायण खतिवडा रहेका छन्।

नेपाल पक्षमा लागेका सांसद्हरूलाई प्रधानमन्त्री ओलीले भोलिका दिन विभेद नगरिने, संसदीय चुनावमा टिकट दिने र चुनाव जिताएर ल्याउन आफ्नो पक्षले कुनै कसर बाँकी नराख्ने आश्वासनसहित एमालेमै फर्किन व्यक्तिगत रुपमै अनुरोध गर्ने छन्। त्यसबाट धेरै सांसद्ले क्याम्प फेर्ने ओलीनिकट नेताहरुको विश्वास छ।

स्पष्टीकरण सोधिएपछि माधव नेपाल पक्ष निकै ‘रक्षात्मक’ देखिएको छ। सो समूहका नेताहरुको मंगलबार र बुधबार भएको भेलाले आफूहरु एमालेमै रहेको भनेर स्पष्टीकरण दिने तयारी छ। सो पक्षले एमालेमै रहेर संघर्ष गर्ने निर्णय यसअघि नै गरिसकेको छ।



विवेक बन्धकी राखेर एमालेवालाहरुले केपी ओलीको ज्यादती धेरै सहने छैनन्

पार्टीभित्रका अनुशासनहीन पक्षलाई सम्झाउने–बुझाउने प्रयास जारी छ: ओली

प्रकाशित मिति: : 2021-04-22 12:57:00

प्रतिकृया दिनुहोस्