प्रदेश २ को स्थायी राजधानी सर्लाहीको बिकल्प छैन: संयोजक साह

प्रदेश २ को स्थायी राजधानी बारे निर्णय गर्न राजनीतिक दल असफल भएका बेला सर्लाहीमा स्थायी राजधानी तोकिनुपर्ने भन्दै आवाज उठेको छ। 

स्थायी राजधानी सर्लाही संघर्ष समितिका संयोजक चन्द्रभुषण साहले प्रदेश २ को भौगोलिक, आर्थिक, सामाजिक एवं राजनीतिक क्षेत्रको दुरगामी प्रभाव तथा महत्वलाई आत्मसात गर्दै प्रदेशको स्थायी राजधानी सर्लाहीको बिकल्प नभएको बताए।

प्रदेश २ को स्थायी राजधानी सर्लाहीमा कायम गराउनका लागि विगत लामो समयदेखि आफूहरूले ध्यानाकर्षण, प्रेस विज्ञप्ति, धार्ना, सर्वदलीय एवं सर्वपक्षीय अन्तरक्रिया, संकल्प र्याली तथा संकल्प दीप प्रज्वलनलगायतका विविध रचनात्मक एवं शान्तिपूर्ण कार्यक्रमहरु गर्दै आएको उनले बताए।

‘आम नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा प्रवेश गरेसंगै यसको ठोस एवं संस्थागत ढंगबाट अभ्यास गर्ने महत्वपूर्ण कडीको रुपमा रहेको प्रदेशहरुको स्थायी राजधानी तोक्ने सवालमा देशका ७  मध्य ६ प्रदेशले आ–आफ्नो स्थायी राजधानी तोकिसक्दा समेत प्रदेश २ सरकार आफ्नो स्थायी राजधानी र नाम समेत तोक्न हालसम्म असमर्थ रहनु पछौटेपनको आफैंमा एउटा भद्दा नमुना एवं हामी सारा प्रदेशवासीहरुको साझा अपमानको विषय हो’, साहले भने।

प्रदेश नं. २ को पूर्वी जिल्ला सिरहा–सप्तरी र पश्चिमी जिल्ला बारा–पर्साको बिच/मध्य भूगोलमा अवस्थित सर्लाही एउटा पुरानो विरासत बोकेको स्थान रहेको दावी उनको छ।

सर्लाही प्रदेशको अन्य स्थानको तुलनामा धार्मिक, भाषिक एवं सांस्कृतिक विविधताले समेत भरिपुर्ण रहेको बताउँदै उनले यहाँ मधेशी, मुस्लिम, थारू, खस–बाहुन, क्षेत्री, दलित, मगर, भोटे, तामाङ्ग लगायतका आदिवासी जनजातिहरुको समेत उल्लेख्य बाहुल्यता रहेको छ।

समग्रमा हेर्दा सर्लाहीलाई एउटा मिनी (सानो) नेपालको रुपमा लिन सकिने बताउँदै साहले सामाजिक सद्भाव र शक्ति सन्तुलनको हिसाबले समेत यो स्थान स्थायी राजधानीको लागी उपयुक्त रहेको दावी गर्छन्।

‘प्रदेश नं. २ को पश्चिम भूगोलमा रहेको विरगंजलाई व्यापारिक तथा औद्योगिक केन्द्र, पूर्वी भूगोलमा रहेको जनकपुरलाई धार्मिक तथा पर्यटन केन्द्र र सर्लाहीलाई प्रदेश प्रशासनिक केन्द्रको रुपमा अगाडि बढाउन सके मात्र प्रदेशवासीहरुको साझा जनभावनाको सही अर्थमा कदर हुनेछ’, साहले भने।

प्रदेश २ को प्रख्यात नगरी लालबन्दी–नवलपुर, हरिवन, बरहथवा, मलंगवा, तथा महोत्तरीको गौशाला र बर्दिबासको समीपमा रहेको ईश्वरपुर–बयलबाँस बृहत्तर नगरीमा प्रदेशको स्थायी राजधानी भएको खण्डमा सागरनाथ, राजारानी थुम्को, कैलाशपुरी महादेव, मन्दिर, मुर्तिया, सतिविहुला–जयाविषहर, नाढी ताल, टुटेश्वरनाथ लगायतका स्थानहरुलाई जोडेर मिनी पर्यटन सर्किट बनाउन सकिने बिकल्प प्रस्तुत गर्दै उनले प्रदेश नंबर २ मा थप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनको प्रचुर सम्भावना बढेर जाने बताए।

प्रदेश नं. २ को बीच (मध्य) भू–भागमा अवस्थित,  पुर्व–पश्चीम राजमार्गसंग जोडिएको,  नव निर्माणको लागि मितव्ययी, पुरानो संरचनाको क्षति गर्नुनपर्ने, उपयुक्त समतल सरकारी जग्गाको पर्याप्त उपलब्धता, नेपाल सरकारको शहरी विकास मन्त्रालयबाट नयाँ शहर निर्माण भैरहेको, भाषिक, धार्मिक तथा सांस्कृतिक पहिचानले भरिपुर्ण, निजी जग्गा अधिग्रहण गर्नुपर्ने बाध्यता नरहेको, प्राकृतिक–वातावरण अनुकूल भएको, सामाजिक सद्भाव र शक्ति सन्तुलनले समेत उपयुक्त, रास्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनको प्रचुर सम्भावना, समानुपातिक एवं सन्तुलित विकास कार्यमा सहयोग, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको एयरपोर्ट निर्माणको प्रवल सम्भावना रहेको, सर्लाहीको प्रख्यात नगरी लालबन्दी, नवलपुर–हरिवन, बरहथवा, मलंगवा, हरिपुर्वा र महोतरीको गौशाला, र बर्दिबासको केन्द्र बिन्दुमा अवस्थीत रहेको, विना कसैको हार सबैको जीतै – जीतकैं अवस्थामा स्थायी राजधानी विवाद अन्त्य, राजधानी निर्माणको नाममा सरकारी ढुकुटी लुट्ने एवम् भ्रष्टाचारको सम्भावना अति न्यून हुने लगायतका कारणले सर्लाही प्रदेश राजधानीका लागि उपयुक्त रहेको दावी साहको रहेको छ।
 

प्रकाशित मिति: : 2021-04-22 16:32:00

प्रतिकृया दिनुहोस्