पर्सा र बझाङमा तीन कोरोना सङ्क्रमितको निधन

सांकेतिक तस्वीर
सांकेतिक तस्वीर

वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत दुई सङ्क्रमितको आज मृत्यु भएको छ।

वीरगञ्ज महानगरपालिका–१६ नगवा निवासी ६१ वर्षीया महिला र वीरगञ्ज– १९ बिन्ध्यवासीनी निवासी ६३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

श्वासप्रश्वासमा समस्या, कडा निमोनिया तथा उच्च ज्वरोबाट ग्रसित महिलाको आज बिहान १ः१५ बजे र पुरुषको बिहान १०ः५० बजे उपचारका क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले जानकारी दिए।

उनले वैशाख ३ गते सङ्क्रमण पुष्टि भएको महिलाको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वैशाख ५ गते अस्पताल भर्ना गरीएको बताए।

त्यस्तै कडा निमोनिया र उच्च ज्वरोबाट पीडित पुरुषलाई वैशाख ५ गते अस्पताल भर्ना गरीएको र उनको वैशाख ६ गते रिपोर्ट पोजेटिभ आएको डा दासले जानकारी दिए।

यसैसँगै कोरोना सङ्क्रमणकै कारण पर्सामा मृत्यु हुनेको सङ्ख्या ६० पुगेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए।

पछिलो एक साताभित्र कोरोना सङ्क्रमणकै कारण पर्सामा सात सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

बझाङ– यहाँ एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ। जयपृथ्वी नगरपालिका–६ का ४८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल सिमखेतका कोभिड स्थानीय स्रोत व्यक्ति नारायण जोशीले जानकारी दिएका छन्।

सङ्क्रमित भारतको तामिलनाडु भन्ने ठाउँबाट चैत २९ गते बझाङ आएका थिए। उनले जिल्ला अस्पताल सिमखेतको प्रयोगशालामा वैशाख १ गते कोभिड एन्टिजेन्ट विधिबाट चेक गर्दा पोजेटिभ देखिएको थियो।

सङ्क्रमितको स्वास्थ्यमा थप समस्या देखिएपछि थप उपचारका लागि कोहलपुर लग्दै गर्दा बाटोमै मृत्यु भएको जोशीले बताएका छन्।रासस

प्रकाशित मिति: : 2021-04-22 18:06:00

प्रतिकृया दिनुहोस्