जानकी मन्दिरका बहुमूल्य सम्पदा सकिँदै

जानकी मन्दिरको उत्तर प्रवेशद्वारमा रहेको ढुंगाको कलात्मक सिंह जोडीको प्रतिमा। यी सिंहका आँखा पहिला हीराजडित रहेकामा चोरी भएपछि ढुंगाकै राखिएको छ। तस्बिर : अन्नपूर्ण

जानकी मन्दिर पछिल्लो समय अस्तव्यस्त बनेको छ। मन्दिरका नाममा रहेका जग्गाजमिनदेखि बहुमूल्य गजुर, आभूषण र गहना हराउँदै गएका छन्। महन्तको एकल व्यवस्थापनमा चलेको मन्दिरमा दशकभन्दा बढी समयदेखि न कुनै हिसाब किताब छ न त लेखापरीक्षण नै।

मन्दिरमा शोभामान अधिकांश गुम्बज र बुर्जामा प्रयोग गरिएका प्राचीन कलात्मक स्वर्ण गजुर, भगवान् राम, लक्ष्मण र माता जानकीलाई चढाइएका बहुमूल्य आभूषणसमेत हराएका छन्। बहुमूल्य गहना कहाँ र कुन अवस्थामा राखिएका छन् भन्ने प्रश्नको जवाफ न महन्त तपेश्वर दाससँग छ न प्रशासनसँग नै। मन्दिरको उत्तरतर्फको प्रवेशद्वारमाथि रहेको ढुंगाको कलात्मक सिंह जोडीको हीराजडित आँखा पनि चोरिएका छन्। 

राजगुठी अधीनस्थ जानकी मन्दिर छुट गुठीमा सञ्चालन हुँदै आएको छ। आर्थिक रूपले सम्पन्न मन्दिरका महन्तका रूपमा रामतपेश्वर दास वैष्णव २०५३ साउन २७ देखि नियुक्त भएका हुन्। जानकी मन्दिरको लालमोहर तथा वैष्णव सम्प्रदायको नीतिअनुसार मटिहानी स्थानका मान महन्त कौशलकिशोर दासले रामतपेश्वरलाई चादर पगरी लगाइदिएका थिए। मन्दिरमा गुरु–शिष्यको प्राचीन परम्पराअन्तर्गत महन्तको मृत्युपश्चात् उत्तराधिकारीका रूपमा रामतपेश्वर दास महन्त बने। 

प्रकाशित मिति: : 2021-05-02 07:52:00

प्रतिकृया दिनुहोस्